Logo
Logo

संविधान संशोधनमा योगदान गर्नेछौँ : बारका नवनिर्वाचित अध्यक्ष 


1.8k
Shares

काठमाडौं । नेपाल बार एशोसियसनका नवनिर्वाचित अध्यक्ष विजयप्रसाद मिश्रले स्वतन्त्र र स्वच्छ न्यायपालिका स्थापनाका लागि आफ्नो प्रतिबद्धता जनाएका छन् ।

बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामपछि विजयी घोषणा भएपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘हामी बारलाई सबैलाई समेटेर एकजुट बनाउनेछौँ र निर्वाचन अघिका सबै वादविवाद अब समाप्त हुन्छ। स्वतन्त्र र स्वच्छ न्यायपालिका स्थापनाका लागि हामी निरन्तर काम गर्नेछौँ।’

मिश्रले बारको विधानलाई आफ्नो प्रमुख कार्यपत्रका रूपमा पेस गर्दै युवा र महिला कानुनी पेशाकर्मीहरूको हकहितमा विशेष ध्यान दिने बताए । उनले सर्वोच्च अदालत परिसरमा विजय उत्सवमा सहभागी हुँदै भने, ‘हाम्रो प्रमुख कार्यपत्र बारको विधान नै हो, र हामी युवा र महिला कानुनी व्यवसायीहरूको हकहितमा काम गर्नेछौँ ।’

यसका साथै, मिश्रले संविधान संशोधनमा पनि योगदान पुर्‍याउने जनाए । ‘संविधान संशोधनमा पनि हामी योगदान गर्नेछौँ र नेपाल बार एशोसियसनका चालु कार्यहरूलाई व्यवस्थित गरेर निरन्तरता दिनेछौं,’ उनले भने ।

वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रले ५,०५२ मत ल्याएर जित हासिल गरेका हुन् । उनी कांग्रेस–एमाले गठबन्धनका संयुक्त उम्मेदवार हुन् । अर्का वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, जो माओवादी केन्द्र लगायतका दलहरूको समर्थनमा उम्मेदवार थिए, २,६२१ मत प्राप्त गरी पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्