काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोप लगाउँदै वर्तमान सरकारका कारण मुलुकको व्यापार र आर्थिक अवस्था धराशायी हुँदै गएको बताएका छन् ।

आजपा काठमाडौँ उपत्यका विशेष कमिटीद्वारा आयोजित कोटेश्वरको बैठकमा बोल्दै अध्यक्ष साहले भने, ‘प्रधानमन्त्री ओली भगौडा दलाल वर्गका संरक्षक बनेका छन् । यिनै वर्गको नेतृत्व गर्दै मजदुर, किसान र श्रमजीवीवर्गको हितमा कुनै पनि कदम चालिएको छैन ।’
उनले थपे, ‘नेपालबाट लुटिएको सम्पत्ति विदेशमा थुपार्ने, देशको पुँजी बाहिर लैजाने र अन्ततः विदेश भाग्ने तत्त्वहरूलाई प्रधानमन्त्रीले संरक्षण दिइरहेका छन् ।’
सरकारले भ्रष्टाचार, अनियमितता, कुशासन र कर आतङ्कलाई प्रश्रय दिँदै मुलुकको आर्थिक मेरुदण्ड नै भाँच्ने काम गरिरहेको उनको आरोप छ । ‘सानादेखि ठुला व्यापारीहरूलाई लखेटेर व्यवसाय तहसनहस पारिँदा पनि ओली सरकार मौन छ, किन ?’ उनले प्रश्न गरे ।
सरकारको संवेदनशील र जनविरोधी गतिविधिका कारण मुलुक समृद्धिको यात्राबाट टाढिँदै गएको उल्लेख गर्दै साहले अब जनताले सरकारलाई सिंहदरबारबाट लखेट्नुपर्ने अवस्था आएको बताए ।
आजपाले यही उद्देश्यले जेठ १५ गते सिंहदरबार घेराउ गर्ने कार्यक्रम तय गरिसकेको छ। त्यसअघि देशका प्रमुख सहरहरूमा खबरदारीसभा तथा विरोध प्रदर्शन गरिने जानकारी अध्यक्ष साहले दिए ।
‘अब आम नेपाली जनतामा प्रधानमन्त्री ओली नेतृत्वको सरकारप्रति गहिरो असन्तोष छ। जनताको यो आक्रोश सिंहदरबारसम्म पुर्याउने जिम्मा हामी लिन्छौँ,’ उनले चेतावनी दिएका छन् ।














