
काठमाडौं । पर्साको वीरगञ्जमा कर्फ्यु लगाउने तयारी भएको छ, स्थानीय प्रशासनले जनाएको छ । शनिवार दिउँसो हनुमान जयन्तीको शोभायात्राका क्रममा छप्कैया चोकमा हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेको हो ।
महानगर प्रमुख राजेशमान सिंहका अनुसार अहिले पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन, र दुवै पक्ष आक्रोशित छन् ।’भर्खरै प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग छलफल भयो, प्रशासनले कर्फ्यु लगाउने तयारी गरिरहेको छ,’ उनले भने ।
झडपका क्रममा केही पसलमा आगजनी गरिएको छ भने स्थानीयवासी र प्रहरी समेत घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिनका लागि अहिले वीरगञ्जमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।














