काठमाडौं । सातको पहिलो कोरोबारको दिन आइतबार सेयर बजार घटेको छ । साताको पहिलो दिन सेयर बजारको परिसूचक नेप्से १६.६८ अङ्क घटेको हो । सो गिरावटपछि नेप्से २७०६ को विन्दुमा पुगेको छ ।

बैङ्कहरूले आजै सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण कमजोर देखिएपछि लगानीकर्ता सशङ्कित बनेका हुन् । बैङ्कहरूको नाफा सामान्य १.४ प्रतिशत बढेको छ ।
तर त्यो नाफा वृद्धि बिजनेस बढेर नभई राष्ट्र बैङ्कबाट पाएको सहुलियतका कारण लोन लस प्रोभिजन घट्दा आएको हो । अर्कोतर्फ साँवा, ब्याज असुलमा बैङ्कहरू अझै कमजोर देखिएका छन् । यसले गर्दा औसत निष्क्रिय कर्जा बढेको छ ।
आज नेप्से परिसूचक मात्रै घटेन, कारोबार रकम पनि घटेको छ । बिहीबार १० अर्ब ७९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ४३ करोडको भयो ।
५३ कम्पनीको मूल्य बढ्दा १९२ को घट्यो भने एउटाको स्थिर रह्यो । बैङ्किङ, विकास बैङ्क, फाइनान्ससहित अधिकांश सेक्टर घटेका छन् । बैङ्किङ ०।७०, विकास बैङ्क ०.७९, फाइनान्स १.२७, होटल तथा पर्यटन १.३६, हाइड्रोपावर १.२२, जीवन बीमा ०.८७, लगानी ०.०६, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा ०.२२ र अन्य १।.०३ प्रतिशत घटे ।
व्यापार १.०२ र उत्पादन ०.५२ प्रतिशत बढे । दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको हो । यी दुवै कम्पनी बजारमा हालै सूचीकृत भएर कारोबार भएकाले केही दिनयता मूल्य १० प्रतिशत बढ्ने क्रम जारी छ ।
त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैङ्कको ७.४९, बोटलर्स नेपाल बालाजुको ६.११, राधि विद्युतको मूल्य ५.९३ प्रतिशत बढ्यो । हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ७.३३ प्रतिशत घट्यो । बलेफी हाइड्रोपावरको ७.२७, सप्तकोशी विकास बैङ्कको ४.९८ प्रतिशत मूल्य घट्यो ।
रकमका आधारमा धेरै कारोबार भएका पाँच कम्पनीमा क्रमशः राधि विद्युत्, बलेफी हाइड्रोपावर, ङादी ग्रुप पावर, निफ्रा र सानिमा माइ हाइड्रोपावर कम्पनी छन् ।














