Logo
Logo

कारोबार रकम १० अर्ब नाघ्दा ङादी ग्रुप पावर शीर्ष स्थानमा


252
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन  सेयर बजार परिसुचक नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार बढेर बन्द भएको नेप्सेले आइतबार पनि बढेको हो । 

आइतबार नेप्से परिसूचक ३.५८ अङ्क बढेर २६६१.६० विन्दुमा पुगेको छ। त्यस्तै, आइतबार सेन्सेटिभ इण्डेकस १.८१ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.०७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अङ्क बढेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । गत बिहीबार ७ अर्ब ८७ करोडको शेयर खरिदबिक्री भएको बजारमा आइतबार ३१४ स्टकको ८९ हजार १६१ पटकको कारोबारमा १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार रुपैयाँबराबरको २ करोड ८४ लाख ३८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर आइतबार पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आइतबार नेपाल माइक्रोको सेयर प्रतिकित्ता ९४ रुपैयाँ ७० पैसा बढेर १ हजार ४२ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ भने क्रेष्ट माइक्रो लाइफको ७८ रुपैयाँ ३० पैसा बढेर ८६१ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र ङादी ग्रुप पावरको सेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने सानिमा माइ हाइड्रोपावर र अरुण भ्याली पावर डेभलपमेन्टको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८६ करोड १७ लाख ३८ हजार रुपैयाँबराबरको सेयरखरिदबिक्री भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे ५६ करोडको सेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको कारोबार रकम ५६ करोड नाघेको छ ।

१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । लगानी उपसमूहको परिसूचक सर्वाधिक १.७७ प्रतिशत बढेको छ। त्यसैगरी, जलविद्युत र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।  वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस्