काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भूमिहीन र सुकुम्बासीको अधिकारको बेवास्ता गर्दै सरकारले माफियामैत्री नीति ल्याएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभामा आजबाट सुरु भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा धारणा राख्दै प्रचण्डले बिचौलिया र माफियाहरूका सेवामा सरकार केन्द्रित भएको बताएका हुन् ।
उनले नीति तथा कार्यक्रममा भूमिहीनको व्यवस्थापनका लागि एक लाइन मात्र लेखिएकोमा असन्तुष्टि जनाए । उनले भने, ‘भूमिहीनको अधिकारलाई त्यति हल्का लिँदा, माफियाका पक्षमा भूमिसम्बन्धी विधेयक ल्याउन सरकारको के आधार छ ? । यसरी भूमिहीन र सुकुम्बासीलाई राज्यले महत्व नदिँदा सरकारको समावेशीता र सामाजिक न्यायका दाबी कमजोर बनिरहेका छन् ।’
प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले माफियाहरूका पक्षमा कार्यक्रम समावेश गरिएको दाबी गरे । ‘अहिले पनि निकै कञ्जुस्याईं गरेर नीति कार्यक्रममा उनीहरूको व्यवस्थापन गरिनेछ भनेर एक लाइन लेख्नुभएछ । तर माफियाहरूका पक्षमा भूमिसम्बन्धी विधेयक ल्याएर कसरी गर्नुहुन्छ व्यवस्थापन रु त्यसै पनि पत्याउने आधार बाँकी राख्नुभएको छ रु’ उनले प्रश्न गरे ।














