काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइ सरकारको बेलुन फुटिसकेको दाबी गरेका छन् । सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रचण्डले यस्तो बताएका हुन् ।

एक महिना बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न नसकेकोमा उनले सरकारको कडा आलोचना गरे । । ‘दुई तिहाइको अहङ्कार त अब मैले हेर्दा त्यो बेलुन फुटिसकेको देख्छु,’ प्रचण्डले भनेका छन् । हरेक नियुक्ति र निर्णयमा स्वार्थ समूह नै हाबी भएको भएको प्रचण्डको आरोप छ । उनले भने, ‘जनताले सेवा प्रवाह सहज रूपमा पाउन सकेका छैनन् । सार्वजनिक संस्थानमा चरम राजनीतिकरण भइरहेका छन् ।’
प्राविधिक रूपमा अहिलेको सरकार नढलेको भए पनि जनताको मन मस्तिष्कमा सरकार ढलेजस्तो भएको प्रचण्डको भनाइ छ । ‘प्राविधिक रूपमा त अहिले सरकार ढलेको छैन । तर साँच्चै जनताको मन मस्तिष्कमा यतिबेला नैतिक रूपमा भन्ने हो भने सरकार छैन, ढलिसकेको छ,’ प्रचण्डले भने, ‘मेरो चिन्ता हिजो पनि थियो, आज पनि त्यही भन्छु सरकारको कार्यशैलीले तपाईंहरूमात्रै ढल्दै हुनुहुन्न, लोकतन्त्रमाथि बाहिरबाट भन्दा सरकारकै काम कारबाहीका कारण बढी खतरा पैदा हुने त होइन ?’














