काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको नीति तथा कार्यक्रम राजामहाराजाको पालाको जस्तै रहेको बताएका छन् । मङ्गलवार प्रतिनिधिसभामा बोल्दै उनले यो परम्पराको निरन्तरतामाथि प्रश्न गरे । उनले भने, ‘नीति तथा कार्यक्रम कहिले कहाँबाट सुरु भएर राजामहाराजाको पालादेखि सुरु भएर कमरेडहरूले पनि धान्या हो । नभए, यसको औचित्य छैन ।’

नीति तथा कार्यक्रमले प्रदेश सरकारको, स्थानीय तह र वडा तहको समेत काम संघले नै गर्ने गरी आएको भन्दै उनले सङ्घीयता विरोधी नीति तथा कार्यक्रम आएको आलोचना गरे ।
नीति तथा कार्यक्रम ल्याउने र त्यसमाथि टिका टिप्पणी गर्नुको अर्थ नरहेको बताउँदै यादवले नीति तथा कार्यक्रममा सांसदले दिएका सुझाव समेटेर बजेट आउने विषय पत्याउन नसकिने बताए ।
नीति तथा कार्यक्रम समाजवाद उन्मुख नरहेको उनले बताए । नवउदारवादलाई समेत उछिन्ने गरी निजीकरणका विषय आएको उनले बताए । बन्द भएका उद्योगलाई चलाउने नीति नरहेको पनि उनले बताए ।
कृषि प्रणाली परम्परागत रूपमा नै रहेको बताउँदै उनले यसलाई आधुनिकीकरण गर्ने विषय नीति तथा कार्यक्रममा आउन नसकेको गुनासो गरे ।
स्वास्थ्य बीमा नेपालमा असफल भइसकेको दाबी गर्दै उनले यसबारे नीति तथा कार्यक्रममा आउन नसकेको बताए ।














