Logo
Logo

जलविद्युत् आयोजनामा राजस्व छली गर्दै सिमेन्ट ढुवानी


1k
Shares

काठमाडौं । जलविद्युत् आयोजनामा कर छल्दै सिमेन्ट ढुवानी गरिएको पाइएको छ । राजस्व छलीको आशङ्कामा प्रहरीले शुक्रवारदेखि आइतबारसम्म दोलखाका विभिन्न स्थानमा जाँचका क्रममा नियन्त्रणमा लिएका ट्रकमध्ये १० वटा सिमेन्ट लोड ट्रकमा बिलविजक नपाएपछि जरिवाना गरिएको हो ।

प्रफिसियन्ट सोलुसन कम्पनीका ती १० ट्रकमा कुनै करसम्बन्धी कागजात नदेखिएपछि आन्तरिक राजस्व कार्यालय महाराजगन्जले ३ लाख ३१ हजार ८ सय रुपैयाँ जरिवाना गरेको हो । बाँकी ४ ट्रकमा भने आवश्यक बिलविजक भेटिएकाले उनीहरूलाई जरिवाना नलगाई छाडिएको छ ।

पहिले चरिकोटस्थित आन्तरिक राजस्व कार्यालयमा बुझाइएका यी ट्रकहरूलाई सो कार्यालयले आफ्नो क्षेत्राधिकार बाहिरको भन्दै कारबाहीका लागि महाराजगन्ज कार्यालय पठाएको थियो। जरिवाना तिरेपछि ट्रकहरूलाई छोडिएको दोलखाका प्रहरी प्रमुख ज्ञानकुमार महतोले जानकारी दिए ।

जाँचका क्रममा ट्रकसँगै संलग्न ट्रान्सपोर्ट कम्पनीहरूले समेत कर छली गरेको खुलेको छ । सिमेन्ट कम्पनीबाट राजधानीका वितरकका लागि बनेको कर विजकका आधारमा सिधै जलविद्युत् आयोजनामा सिमेन्ट पठाइएको भेटिएको छ । तर वितरकले उक्त सामग्रीका लागि बिलविजक नतिरिएकाले राजस्व छली भएको आशङ्का गरिएको हो ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका अधिकांश ट्रकमा कर विजकको रसिद समेत नदेखिएपछि ठुला परियोजनामा अनधिकृत रूपमा सिमेन्ट ढुवानी गरेर कर छली गर्ने गिरोह सक्रिय रहेको अनुमान गरिएको छ । यसका लागि आन्तरिक राजस्व कार्यालयले थप अनुसन्धान अघि बढाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्