काठमाडौं । साफ यू-१९ च्याम्पियनसिपको समूह चरणअन्तर्गत नेपालले आज श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । भारतको अरुणाचल प्रदेशस्थित गोल्डेन जुबिली रङ्गशालामा नेपाली समयअनुसार साँझ ७:४५ बजे हुने यो खेलमा नेपालले जित हासिल गरे सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।

नेपाल रहेको समूह ‘बी’ मा आयोजक भारत र श्रीलङ्का छन् । पहिलो खेलमा भारतले श्रीलङ्कालाई ८-० ले पराजित गरेको थियो । नेपालले मङ्गलवार भारतसँग खेल्नेछ । यता, समूह ‘ए’ मा बङ्गलादेश र माल्दिभ्सले २-२ को बराबरी खेलेका थिए । आज साँझ ४: १५ बजे बङ्गलादेश र भुटानबीच खेल हुनेछ ।
दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । नेपालले सन् २०१५ को पहिलो संस्करण र सन् २०१७ को यू-१८ संस्करण जितेको थियो, तर पछिल्लो संस्करणको फाइनलमा बङ्गलादेशसँग पराजित भएको थियो । नेपाल टोलीको कप्तानी राम थापाले गरेका छन् भने प्रशिक्षक उर्जन श्रेष्ठ छन् ।
नेपालको टोली:
गोलरक्षक: भक्त बहादुर परियार, उपेन्द्र ल्वागुन, विशेष बानिया डिफेन्डर: रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्बाङ, मदन पौडेल, राम थापा, विजय उर्बा, सिद्धान्त खड्का मिडफिल्डर: कृष्ण बहादुर आले, कृष थापा मगर, सरोज दर्लामी, लछु थापा, सबिन कुमारी लुन्गेली मगर, रञ्जित लामा, सुबास बम, विज्ञान खड्का फरवार्ड: पवन पाख्रिन, धर्वेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ














