Logo
Logo

सेयर बजार पूँजीकरण ४४२५.४० अर्ब


189
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सूचकाङ्क २०८२ वैशाख मसान्तमा २६६२.०८ अङ्कमा पुगेको छ । जुन गत वर्ष २०८१ वैशाख मसान्तको २०२५.७१ अङ्कको तुलनामा ३१.३प्रतिशतले बढी हो। यो वृद्धिले नेपालको पुँजी बजारमा लगानीकर्ताको विश्वास बलियो भएको सङ्केत गर्छ ।

बजार पुँजीकरण पनि उल्लेखनीय रूपमा बढेर ४४२५.४० अर्ब रुपैयाँ पुगेको छ । जुन गत वर्षको ३२१२.०१ अर्बको तुलनामा ३७.८ प्रतिशतले वृद्धि हो । यो वृद्धि नयाँ सूचीकरण र विभिन्न क्षेत्रका सेयर मूल्यमा आएको उछालका कारण सम्भव भएको हो ।

२०८२ वैशाख मसान्तसम्म नेप्सेमा २७० कम्पनी सूचीकृत छन् । जुन गत वर्षको २७२ को तुलनामा थोरै कमी हो । सूचीकृत कम्पनीहरूमा १३२ बैङ्क तथा वित्तीय संस्था (बीएफआई) र बीमा कम्पनी, ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक कम्पनी र ७ अन्य छन् । बजार पूँजीकरणमा बीएफआई र बीमा कम्पनीको हिस्सा ५२.७ प्रतिशत छ भने जलविद्युत् कम्पनीको १५.१ प्रतिशत, लगानी कम्पनीको ७.९ प्रतिशत, व्यापारिक कम्पनीको ५.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ५.४प्रतिशत, होटलको २.६प्रतिशत र अन्य कम्पनीको १०.५प्रतिशत छ ।

नेप्सेमा सूचीकृत ८७२ अर्ब सेयरको चुक्ता मूल्य ८५९.४५ अर्ब रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा ५२.१५ अर्ब रुपैयाँ बराबरको सेयर सूचीकृत भए, जसमा १९.७७ अर्बको बोनस सेयर, १५.४१ अर्बको साधारण सेयर, ११.६५ अर्बको हकप्रद सेयर, १.२५ अर्बको म्युचुअल फन्ड, १०.६८९ करोडको थप सार्वजनिक निष्कासन (एफपीओ) र ३.९६ अर्बको अन्य सेयर समावेश छन् ।

नेपाल धितोपत्र बोर्ड ९सेबोन० ले सो अवधिमा २८.५८ अर्ब रुपैयाँ बराबरको सार्वजनिक निष्कासनलाई स्वीकृति दिएको छ, जसमा ११.६० अर्बको म्युचुअल फन्ड, १०.३७ अर्बको हकप्रद सेयर, ४.८२ अर्बको डिबेन्चर र १.७९ अर्बको साधारण सेयर समावेश छन् ।

विश्लेषकहरूले बजारको यो सकारात्मक प्रवृत्तिलाई सुधारिएको आर्थिक सूचक, लगानीकर्ताको बढ्दो सहभागिता र नेप्से अनलाइन ट्रेडिंग सिस्टम (एनओटीएस) जस्ता डिजिटल प्रयाससँग जोड्छन् । यद्यपि, सूचीकृत कम्पनीको सङ्ख्यामा आएको कमीले दीर्घकालीन वृद्धिका लागि विविध सूचीकरणको आवश्यकता औंल्याउँछ। बजारको यो लयले आगामी महिनामा थप वृद्धिको आशा जगाएको छ।

प्रतिक्रिया दिनुहोस्