काठमाडौं । बार्सिलोनाले बिहीबार राति छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई २–० ले पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि जितेको छ । यो क्याटलान क्लबको २८औँ लिग उपाधि हो ।

प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा बार्सिलोनाले लामिन यमाल र फर्मिन लोपेजको १–१ गोलमा जित हासिल गर्यो । ५३औँ मिनेटमा यमालले ड्यानी ओल्मोको पासमा गोल गरे भने ८०औँ मिनेटमा एस्पान्योलका लुइस कार्बेराले रातो कार्ड पाए । इन्ज्युरी समयमा यमालको पासमा फर्मिनले गोल गर्दै जित पक्का गरे ।
यो जितसँगै बार्सिलोनाले २ खेल बाँकी रहँदा दोस्रो स्थानको रियल म्याड्रिडसँग ७ अङ्कको अग्रता कायम गरेको छ । यस सिजन बार्सिलोनाले कोपा डेल रे र स्पेनिस सुपर कप पनि जितेर स्पेनिस फुटबलका सबै ट्रफी कब्जा गरेको छ । रियलविरुद्ध सबै क्लासिको र दुवै कप फाइनल जितेको बार्साले आइतबार भिल्लारियलविरुद्ध खेलपछि लिग ट्रफी प्राप्त गर्नेछ ।











