Logo
Logo

‘हिमालयन चितुवा’ ले जिते के वन क्रस १७५ उपाधि


252
Shares

काठमाडौं । नेपाली युवा बक्सर अविरल घिमिरेले किक बक्सिङ खेलको इतिहासमा नयाँ कीर्तिमान कायम गर्न सफल भएका छन् । ‘हिमालयन चितुवा’को नामले विश्व परिचित बक्सर घिमिरेले पहिलो पटक तीनवटा अन्तरराष्ट्रिय ‘किक बक्सिङ टाइटल’ हात पार्दै अदम्य साहस तथा असाधारण उपलब्धि हासिल गरेका हुन् ।

बक्सर घिमिरेले जापानको ओसाकामा आइतबार सम्पन्न विश्व प्रसिद्ध ‘के वन क्रस १७५’को उपाधि चुम्दै नयाँ कीर्तिमान बनाउन सफल भएका हुन् । अत्यन्त प्रतिस्पर्धात्मक प्रतियोगितामा उनले जापानी किक बक्सिङ ‘च्याम्पियन’ ओडा जिन्कलाई दोस्रो राउण्डमा परास्त गर्दै विश्व ‘च्याम्पियन’ बने ।

‘च्याम्पियन’ जिन्कलाई रिङ्मा ढाल्ने बक्सर घिमिरे पहिलो नेपाली खेलाडी बनेको बक्सर अविरलका पिता एवं पूर्वअन्तरराष्ट्रिय किक बक्सर तथा फुलकन्ट्र्याक कराँते खेलाडी देव घिमिरेले जानकारी दिए । उनका अनुसार ‘के वन क्रस १७५’ लाई किक बक्सिङ खेलका क्षेत्रमा अन्त्यन्त प्रतिष्ठित प्रतियोगिता मानिन्छ । सो अन्तरराष्ट्रिय खेल हेर्ने जापानमा रहेका नेपाली तथा जापानीको उल्लेखनीय सहभागीता रहेको कराँते खेलाडी देवले बताए ।

प्रतियोगिताका लागि बक्सर अविरलले थाइल्याण्डको फुकेट सहरस्थित टाइगर मोथाई क्लबमा करिब डेढमहिना आफ्नै खर्चमा बन्द प्रशिक्षणसमेत लिएका थिए । ‘के वन क्रस १७५’को उपाधि हात पारेपछि बक्सर अविरलले भन्ने, ‘के वन क्रस १७५’को उपाधि हात पार्नु नेपाल र मेरो लागि ऐतिहासिक क्षण हो । यसका लागि मेरा पिता एवं प्रशिक्षक कराँते खेलाडी देवलाई विशेष धन्यवाद दिन चाहन्छु । मेरो खेल हेर्न हलमा सहभागी भएका नेपाली र जापानी खेलप्रेमीलाई पनि धन्यवाद दिन चाहन्छु । मेरो खेलयात्रा जारी रहने छ ।’

प्रतिक्रिया दिनुहोस्