चितवन । बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले बिहीबार बिहान काठमाडौं–भरतपुर परीक्षण उडान गरेको छ । बिहान साढे ९ बजे भरतपुर विमानस्थलमा पहिलोपटक अवतरण गरेको बुद्ध एयरको ७२ सिटे जहाजले दुबै साइडबाट उडान र अवतरण गरेको थियो ।

दक्षिण पूर्वतर्फ रनवे १५ र पश्चिमतर्फ रनवे ३३ बाट उडान तथा अवतरणको परीक्षण गरिएको हो । बुद्धका पाइलटद्वय प्रमोद थापा र रवि श्रेष्ठले विमानको परीक्षण उडान गरेका थिए ।
क्याप्टेन थापाले परीक्षण उडानमा खासै समस्या नभएको बताए । २७ वर्षदेखि बुद्ध एयरमा काम गर्दै आएका थापाले भरतपुर विमानस्थलमा उडान तथा अवतरणमा असहज र जोखिम नभएको बताए । परीक्षण उडानका रिपोर्टहरु बुझाउने तयारी सुरु गरिसकेको उनले जानकारी दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले भरतपुरमा ७२ सिटको जहाज कसरी ल्याउन सकिन्छ भनेर परीक्षण उडान गरिएको बताए । उनले विमानको परीक्षणका क्रममा दुई चालकबीच भएको कुराकानी, भ्वाइस रेकर्ड, इन्जिनको अवस्था, ब्रेकिङ्ग एक्सन जस्ता विषयको अध्ययन फ्लाइट रेकर्डरका माध्यमबाट हेरेर रिपोर्ट तयार गरेपछि मात्रै उडान परीक्षण सफल भयो कि भएन भन्न सकिने बताए ।
अबको एक वा डेढ महिनामा रिपोर्ट बुझाउने र एयरलाइन्सले चाहेमा दुई महिना भित्र नियमित उडान गर्न सक्ने उनको भनाइ छ । हाल बुद्ध एयरको ४२ सिट क्षमताको जहाजले मात्रै काठमाडौं–भरतपुर र पोखरा–भरतपुर उडान गर्दै आएको छ । अब ७२ सिट क्षमताको जहाज पनि चलाउने तयारी अनुसार परीक्षण उडान गरिएको हो । प्राधिकरणले अनुमति दिन ढिला भएका कारण परीक्षण उडान पनि ढिला भएको बस्नेतको भनाइ छ ।
बुद्धका अहिले उडान गर्दै आएका २ वटा ४२ सिटे जहाजमध्ये एउटा फेजआउट हुने क्रममा रहेकाले ७२ सिटे जहाज ल्याउनुपर्ने बाध्यतामा बुद्ध एयर छ । बुद्धले हाल भरतपुरबाट दैनिक ७ उडान गर्दै आएको छ ।














