पोखरा । टिप टप हेल्प नेपालले नवौँ पिएम कप एनभिए लिगको पुरुषतर्फ लगातार चौथो जित निकालेको छ । आज हेल्प नेपालले कोशी प्रदेशलाई ३-० को सोझो सेटमा हराएको हो । पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले २५-२१, २५-२० र २५-२२ को सोझो सेटको जित निकालेको हो ।

१२ अङ्कसहित हेल्प नेपाल लिग तालिकाको शीर्षस्थानमा रहेको छ । तेस्रो हार बेहोरेको कोशीसँग मात्र ३ अङ्क छ । टोलीले एक खेले जितेको थियो ।
त्यसअघि नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा हरायो । पुलिसले २५-१९, २५-९ र २५-१९ को सहज जित निकालेको हो । पुलिसको यो दोस्रो जित हो ।
यसअघि आज महिलातर्फ पुलिस र टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबले लगातार तेस्रो जित हात पारेका छन् । पुलिसले एपिएफलाई ३-१ ले हरायो । यो जितमा पुलिस अङ्क तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
पहिलो सेट पुलिसले २५९१९ ले जित्यो। तर दोस्रो सेट भने २४-२६ ले गुमाउन पुग्यो । दोस्रो सेटको समाप्तीमा खेल १-१ को बराबरीमा पुग्यो। तर एपिएफले दोस्रो सेटको लयलाई निरन्तरता दिन सकेन ।
पुलिसले तेस्रो सेट २५-१८ र चौथो सेट २५-२१ जित्दै खेल आफ्नो पक्षमा पार्यो । ९ अङ्क सहित पुलिस शीर्षस्थानमा उक्लिएको छ। एपिएफसँग ६ अङ्क छ । तेस्रो खेलमा उसको यो पहिलो हार हो ।
पहिलो खेलमा न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई ३-१ ले माथ दियो। पहिलो सेट गुमाएर पनि न्यु डायमण्डले उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको छ । न्यु डायमण्ड २१-२५,२५-१४,२५-२१,२५-२१ ले विजयी भयो ।
लगातार ३ जितपछि ९ अङ्कसहित न्यु डायमण्ड अङ्क तालिकाको दोस्रो स्थानमा छ । न्यु डायमण्ड सेटको आधारमा दोस्रो स्थानमा छ । आर्मी लगातार तेस्रो खेलमा पराजित भएको छ ।
नेपाल भलिबल संघको आयोजनामा जेठ १५ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ । सबैले एकअर्कासँग खेलेपछि अङ्क तालिकाको शीर्ष दुई टोलीले फाइनल र त्यसपछिका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।
लिगको महिलातर्फ फाइनल पुग्ने २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।














