
काठमाडौं, १७ साउन । गायिका सहिमा श्रेष्ठ तीजमा व्रत बस्दिनन्, न त उनी साउन महिना मठ–मन्दिर नै धाउँछिन् । ‘मनमा आस्था भए भगवान शिवजी आफैँ खुसी हुन्छन्’ भन्ने मान्यता बोकेकी सहिमाले हरेक वर्ष तीजको अवसरमा गीत भने ल्याउँछिन् ।
‘विगत केही वर्षयता प्रत्येक तीजको अवसरमा नेपाली दिदी–बहिनीहरुलाई लक्षित गर्दै नाच्ने गीत गाउँदै आएकी छु’ सहिमाले भनिन्, ‘तीज गीत गाउँदा आनन्द आउँछ ।’ पाश्र्वगायनमा जम्दै आएकी यी सहिमाद्वारा स्वरवद्ध ‘दिल खोलेर नाचिन्छ’ बोलको गीत सार्वजनिक भएको छ । तर, यो गीत सहिमाको आफ्नो प्रोजेक्ट भने होइन । रेखा पन्तको शब्द र कोशिस क्षेत्रीको संगीत रहेको यस गीतमा स्वरमात्र सहिमाको हो ।
गीतको बोलजस्तै डान्सिङ बीटको यस गीतको भिडियोमा अभिनेत्री नीता ढुंगानाले दिल खोलेर नाचेकी छन् । केही वर्षयता अभिनेत्री नीता फिल्ममा भन्दा बढी म्युजिक भिडियोमा देखिँदै आएकी छन् । यसअघि पनि नीताले सहिमाको गीतको भिडियोमा अभिनय गरिसकेकी छन् । म्युजिक भिडियोका लागि सहिमा र नीताको तालमेल मिल्दै आएको छ ।
गीत सार्वजनिक गरेपछि गायिका सहिमाले शेयर गर्दै भनिन्, ‘यसपाली तीजका लागि मेरो आफ्नै प्रोजेक्ट भएन, अरुको प्रोजेक्टमा गाएकी हुँ ।’
हुन पनि विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)का कारण अरु क्षेत्रजस्तै मनोरञ्जन उद्योग पनि प्रभावित भएको छ । तर, यस्तो विश्व संकटको अवस्था पनि नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गीतहरु बजारमा आइरहेका छन् ।
यसैक्रममा ‘दिल खोलेर नाचिन्छ’ गीत बजारमा आएको हो । यसपालीको तीजमा पार्टी प्यालेस, होटल र रेष्टुरेण्टहरुमा भव्य पाटी नभएपनि घरमै भएपनि नेपाली दिदी–बहिनीहरु दिल खोलेर नाच्ने अपेक्षा ‘दिल खोलेर नाचिन्छ’ टिमको अपेक्षा छ ।











