Logo
Logo

खेलकुद परिषद्मा लुट धन्दा


630
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यलगायत बोर्डका केही सदस्यहरुले औचित्यहीन भ्रमणमा लाखौं रकम दुरुपयोग गरेका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्षसमेत रहेका आचार्यले उक्त एकेडेमीद्वारा देशका विभिन्न स्थानमा आयोजित कार्यक्रम सञ्चालन गर्ने क्रममा परिषद्को खर्चबाट भ्रमण गरेको आरोप छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मदन भण्डारी स्पोर्टस् एकेडेमीको कार्यक्रम गर्न परिषद्बाट भ्रमण भत्ता, टीएडीए र गाडी र इन्धनदेखि भाडा समेत लिएको उजुरी परेको छ ।

उक्त दुरुपयोग रोक्न माग गर्दै परेको उजुरीमा बेरितपूर्वक र बिनाऔचित्य परिषदको कार्यक्रमको बहाना बनाएर मदन भण्डारी स्पोर्टस् एकेडेमीका कार्यक्रममा सहभागी भएका प्रमाणसमेत पेश गरिएको छ ।

उजुरीमा परिषदको उपाध्यक्षले गाडी सुविधा र सवारीचालक पाउने कानुनी ब्यवस्था नभए पनि आचार्यले ती सुविधा गैरकानुनी रुपमा प्रयोग गर्दैआएकाले छानबिन गरी कारबाही गर्न माग गरिएको छ । आचार्यका अलावा परिषद सदस्य कमल भट्टराईलगायत अन्य बोर्ड सदस्यहरुले ब्यक्तिगत र पारिवारिक काममा जिल्ला जाँदा परिषदको रकम दुरुपयोग गरेकाले उक्त बिषयलाई पनि छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।

भट्टराई दरबारमार्गस्थित एक ट्राभल एजेन्सीका सञ्चालकसमेत भएको र उक्त ट्राभल एजेन्सीको नाममा युवा तथा खेलकुद मन्त्रालय र परिषदको हवाई टिकट खरिदको जिम्मा समेत लिएका छन् । आफैं संचालक रहेको ट्राभल एजेन्सीमार्फत् परिषदबाट हवाई टिकटको बिल भुक्तानी लिनु स्वार्थ बाझिने कार्य भएको समेत उजुरीमा ध्यानाकर्षण गराइएको छ । भट्टराईलगायत केही बोर्ड सदस्यहरुले परिषदलाई दुहुनो गाई बनाएर ब्यापार चलाइरहेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्