काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गरेपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गर्न सकेनन् ।
विपक्षी दलहरूले ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता भएको आरोप लगाउँदै उनको राजीनामा र उच्चस्तरीय छानबिन समितिको गठन माग गरेका छन् ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र आम जनता पार्टीसहितका विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने अडान लिएका छन् ।
यस अवरोधका कारण संसद्को कार्यसूचीमा रहेको आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम प्रभावित भएको छ । सङ्घीय संसद् सचिवालयले आजको बैठकमा अर्थमन्त्री पौडेलले देशको समग्र आर्थिक अवस्था प्रस्तुत गर्ने कार्यसूची राखेको थियो । तर, सत्तापक्ष र विपक्षीबीचको विवादले सदन अवरुद्ध हुँदा आर्थिक सर्वेक्षण पेस हुन सकेन ।
यो अवरोधले संसद्का अन्य महत्त्वपूर्ण कार्यसूचीहरू पनि प्रभावित हुने सम्भावना बढेको छ । बैठक भोलि बुधवारसम्मका लागि स्थगित भएको छ।














