काठमाडौं । चालु आर्थिक वर्षको बैशाखसम्म निर्जीवन बीमा कम्पनीहरूले ३५ अर्ब ८६ करोड ५० लाख रुपैयाँको व्यवसाय गरेका छन् । जसमा १४ वटा ठुला निर्जीवन बीमा कम्पनीले ३५ अर्ब ९ करोड ८० लाख र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले ७६ करोड ६९ लाख रुपैयाँको बीमा शुल्क सङ्कलन गरेका छन् । समग्रमा बीमा शुल्क सङ्कलन ८.४६ प्रतिशतले बढेको छ, जसमा ठुला कम्पनीहरूको ६.७६ प्रतिशत र लघु बीमाको २९५ प्रतिशतले वृद्धि भएको छ।

बीमा शुल्क संकलनमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा छ, जसले ४ अर्ब ६८ करोड १८ लाख रुपैयाँ (३.१० प्रतिशतले वृद्धि) सङ्कलन गरेको छ । दोस्रो स्थानमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ अर्ब ४ करोड १५ लाख (४.०२ प्रतिशतल वृद्धि) र तेस्रोमा सिद्धार्थ प्रिमियमले ३ अर्ब ४७ करोड रुपैयाँ सङ्कलन गरेको छ ।
हिमालयन एभरेष्ट र आईजीआई प्रुडेन्सियलले क्रमशः ३ अर्ब ८ करोड र ३ अर्ब २ करोड सङ्कलन गरेका छन्। अन्य कम्पनीहरूमा नेको (२.७० अर्ब), एनएलजी (२.४२ अर्ब), दी ओरियन्टल (२.२५ अर्ब) लगायत छन् । १४ मध्ये १० कम्पनीको सङ्कलन बढेको छ, तर राष्ट्रिय बीमा कम्पनीको १३.११प्रतिशतले घटेको छ ।
बीमालेख जारी संख्यामा सिद्धार्थ प्रिमियमले २ लाख ५१ हजार ६६९ वटा जारी गरी अग्रता लिएको छ, तर यो गत वर्षभन्दा केही कम हो । शिखर, नेको, सगरमाथा लुम्बिनी, हिमालयन एभरेष्ट र युनाइटेड अजोडले २ लाखभन्दा बढी बीमालेख जारी गरेका छन् ।
लघु निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा उल्लेख्य वृद्धि भएको छ । चार कम्पनीले ७६ करोड ६९ लाख सङ्कलन गर्दै ३ लाख ८ हजार ३७६ बीमालेख जारी गरेका छन्, जुन गत वर्षको तुलनामा तीन गुणाले बढी हो । ट्रष्ट माइक्रो इन्स्योरेन्सले ६१ हजार ७७९ बीमालेख र १७ करोड ६ लाख सङ्कलन गरी लघु बीमामा अग्रता लिएको छ ।











