काठमाडौं । राजसंस्था पुनः स्थापनाको मागसहित जेठ १५ गते गणतन्त्र दिवसकै दिन सुरु भएको राजावादी आन्दोलन पछिल्ला दिनहरूमा क्रमशः सुस्ताउँदै गएको छ ।
नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा भएको यस आन्दोलनले पहिलो दिन रत्नपार्क, दोस्रो दिन माइतीघरदेखि नयाँ बानेश्वरसम्म, तेस्रो दिन शान्तिबाटिका र चौथो दिन नक्सालदेखि बालुवाटारसम्म प्रदर्शन गरेको थियो ।

सोमबार भने राजावादीले कुनै पनि प्रदर्शन गरेनन् । जेठ १९ गते पूर्वराजा स्व. वीरेन्द्र र ऐश्वर्यलगायत राजपरिवारका सदस्यहरूको स्मृतिमा देशभरी शोक भएकाले आन्दोलनको कार्यक्रम स्थगित गरेर दीप प्रज्वलन गरेका थिए ।
राजावादीहरूले मंगलबार दिउँसो काठमाडौंको सिफल चौरमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेता पशुपति शमसेर जबरा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी लगायत सहभागी थिए । तर, उक्त प्रदर्शनमा त्यस्तो उत्साहजनक सहभागी भएनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपालसहित विभिन्न हिन्दू राष्ट्र समर्थक र राजावादी संगठनहरूको सहभागितामा भएको यस आन्दोलनलाई शान्तिपूर्ण बनाउने दाबी गरिएको थियो। तर आन्दोलन लम्बिँदै जाँदा प्रदर्शनकारीहरू उग्र हुँदै गए भने प्रहरीले व्यापक रूपमा धरपकड सुरु ग¥यो ।
प्रहरीको व्यापक धरपकड र राजावादीहरू एकजुट नहुँदा प्रारम्भमा देखिएको उल्लेखनीय सहभागिता क्रमशः घट्दै गएको छ । आन्दोलनले सामाजिक सञ्जालमा चर्चा र उत्साह पाएको भएपनि त्यो उत्साह सडकमा रूपान्तरण हुन सकेको छैन ।
संगठनात्मक कमजोरी, प्रशासनिक दबाब र सीमित जनसमर्थनले गर्दा आन्दोलनको प्रभाव घट्दै गएको छ । हालसम्म आन्दोलनले राजधानीमा केही प्रभाव देखाए पनि देशभरि व्यापक समर्थन जुटाउन सकेको छैन । तर, राजावादी पक्षधरहरूले भने सरकार आफूहरूबाट डराएको दाबी गरिरहेका छन् ।
आन्दोलनकारीहरूले माग पुरा नभएसम्म प्रदर्शन जारी राख्ने अडान लिएपनि अहिलेसम्म कुनै ठोस उपलब्धि देखिएको छैन । त्यसैले गणतन्त्र पक्षधर नेताहरूले कहिलेकाहीँ ‘भाडामा मान्छे ल्याएर जुलुस निकाल्ने’ आरोप लगाउन थालेका छन् ।
राजावादी आन्दोलन सुस्ताउँदै जानुको अर्को प्रमुख कारण आपसी एकताको अभाव पनि हो । आइतबारको आन्दोलनमा प्रहरी दमनपछि राजावादी समूहहरूबिच समन्वय नदेखिएकाले उनीहरूले छुट्टाछुट्टै वक्तव्य सार्वजनिक गरेका थिए । संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले जेठ १९ गते काठमाडौं बन्दको घोषणा गरे पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले त्यसमा सहभागिता जनाएन ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमार्फत उपत्यका बन्दको विरोध गर्दै भनेका छन्– सामान्यतया राप्रपा बन्द हडताल जस्तो अलोकप्रिय कार्यक्रमको विपक्षमा छ । आज सरकारको तर्फबाट पक्राउमा परेका नेता कार्यकर्ताहरूको रिहाइको विशेष सन्दर्भमा उपत्यका बन्दको प्रसङ्ग उठेको भए पनि पक्राउ परेका नेता कार्यकर्ताहरू रिहा भइसक्नुभएको हुँदा भोलि हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने जानकारी गराउँछु ।’
त्यसैबीच, संयुक्त जनआन्दोलन समितिले दरबार हत्याकाण्डको सम्झनामा सोमबारको कार्यक्रम स्थगित गरेको छ । संयोजक सुवेदीले शोकको सम्मानस्वरूप कुनै कार्यक्रम नराखिएको जनाएका छन् । तर, आइतबारको प्रहरी दमनपछि आह्वान गरिएको बन्द फिर्ता लिइनु र अन्य कार्यक्रमहरू अस्पष्ट हुनु आन्दोलन स्थगन गरिएको बताइएको छ । राजावादीहरू एकताको दाबी गर्दै आए पनि स्पष्ट रणनीति र एकीकृत नेतृत्वको अभावले आन्दोलन प्रभावहीन बन्ने खतरा बढ्दो छ ।
नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आरम्भमा विभिन्न संगठनहरूलाई एकीकृत गर्ने प्रयास गरेको भए पनि दीर्घकालीन रणनीति र स्पष्ट कार्ययोजनाको अभावले सहभागीहरूमा निराशा बढ्दै गएको छ । यद्यपि, राजावादी आन्दोलनको भविष्य उनीहरूको आन्तरिक एकता, स्पष्ट योजना र जनसमर्थन जुटाउने क्षमतामा निर्भर रहने देखिन्छ ।














