काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दामा पुनः छानबिन गर्न सर्वोच्चले दिएको आदेशले शान्ति प्रक्रिया टुंगोमा पु¥याउन मद्दत नगर्ने बताएको छ ।

द्वन्द्वकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाउनु पर्नेमा प्रहरीलाई छानबिन गर्न आदेश दिनुले अनावश्यक राजनीतिक विवादसमेत खडा गर्ने माओवादीको ठहर छ ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले सर्वोच्चबाट आएको आदेशले राम्रो संकेत नगरेको भन्दै यसले नेपालको शान्ति प्रक्रिया टुंगोमा पु¥याउने कुरामा पोजेटिभ म्यासेज नदिएको बताए ।
सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या भएको घटनामा अग्नि सापकोटा संलग्न भएको भन्दै सापकोटाविरुद्ध अर्जुनकी पत्नी पूर्णिमाया लामा, सुशील प्याकुरेल, कनकमणि दीक्षितलगायतले विभिन्न मितिमा सर्वोच्चमा रिट दायर गरेका थिए ।
बुधबार सर्वोच्चको संवैधानिक इजलासले सापकोटाविरुद्ध परेका उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । सापकोटाविरुद्धको अनुसन्धान अघि नबढाउन निर्देशन दिने तत्कालीन सरकारको निर्णयलाई समेत सर्वोच्च अदालतले बदर गरेको थियो ।
सर्वोच्चको उक्त आदेशपछि आज बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय कार्यालयको बैठक बोलाएर छलफल गरेका छन् । छलफलमा सापकोटा पनि सहभागी छन् । माओवादी केन्द्रको पदाधिकारी बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा जारी छ ।














