Logo
Logo

गोरखा, म्याग्दी र डोटीमा नदीले बगाएर चार बेपत्ता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ साउन । छुट्टाछुट्टै जिल्लामा गरी खोलाले बगाएर चार जना बेपत्ता भएका छन् । यसै क्रममा गोरखामा दरौदी नदीले बगाएर दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पालुङटार नगरपालिका–१ खुर्पाजुङ घर भएका १६ वर्षीय सविन श्रेष्ठ र १५ वर्षीय प्रज्ज्वल श्रेष्ठ रहेकोे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।


“गोरखा नगरपालिका वडा नं ३ स्थित बेनीखोलामा फुटबल खेल हेर्न खुर्पाजुङबाट चार साथी मिलेर आएका रहेछन्”, उनले भने, फुटबल हेरेर फर्कँदै गर्दा नदी तर्ने क्रममा दुई जनालाई बगाएछ ।” बिहीबार दिउँसो बालकलाई नदीले बगाएको थियो । लगातारको वर्षाका कारण दरौदी नदीमा पानीको बहाव बढी भएकाले पनि खोजीकार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ । मझुवा, बाह्रकिलो र चोरकाटेलगायत दरौँदी नदीको आसपासका क्षेत्रमा प्रहरी, स्थानीयवासी र बेपत्ता युवकका आफन्त मिलेर खोजीकार्य जारी रहेको प्रनाउ खतिवडाले जानकारी दिए ।

त्यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमानामा पर्ने घारखोलाले बगाएर एक महिला बिहीबार साँझदेखि बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा अन्नपूर्ण–५ पाउद्धारकी अन्दाजी ५५÷५६ वर्षकी टीकामति परियार रहेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिए ।

उनका अनुसार घारबाट पाउद्धारतर्फ जानका लागि खोला तर्ने क्रममा बेपत्ता भएकी परियारको खोजी जारी छ । घार प्रहरी चौकीबाट खटिएका प्रहरीसहित स्थानीयवासीले खोजी गरेका थिए । शुक्रबार बिहानैदेखि बेपत्ताको खोजीकार्यलाई निरन्तरता दिएको प्रहरी नायब उपरीक्षक कुँवरले बताए ।

त्यस्तै पौडी खेल्ने क्रममा सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा आदर्श गाउँपालिका–६ गिरीचौका खतेडा गाउँका मानबहादुर खडायतका १३ वर्षीय छोरा अर्जुन खडायत रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले जानकारी दिए ।

पौडी खेल्ने क्रममा गाउँ नजिकैको सेती नदीमा बगेर उनी बेपत्ता भएका र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । जिल्लामा एक महिनाको अवधिमै सेती नदीमा बगेर पाँच जनाको ज्यान गइसकेको छ । वर्षात्को समयमा सेती नदीमा पानीको बहाब बढ्ने भएको सावधानी नअपनाउने गरेका कारण नदीमा पौडी खेल्न जानेहरु बगेर बेपत्ता हुन थालेको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्