Logo
Logo

युरोपियन च्याम्पियन स्पेन र पोर्चुगल आज नेशन्स लिग फाइनलमा भिड्दै


1.6k
Shares

जर्मनी । युरोपियन फुटबलका दुई शक्तिशाली टोली, स्पेन र पोर्चुगल, आज युइएफए नेशन्स लिगको फाइनलमा प्रतिस्पर्धा गर्दै छन् । जर्मनीको म्युनिखस्थित अलिआन्ज एरिनामा नेपाली समयअनुसार राति १२: ४५ बजे हुने यो खेलमा विजेता टोलीले दोस्रोपटक नेशन्स लिगको उपाधि जितेर इतिहास रच्नेछ । सन् २०१९ मा पहिलो संस्करण जितेको पोर्चुगल र साबिक विजेता स्पेन दुवै दोस्रो उपाधिका लागि भिड्दै छन् । यसअघि फ्रान्सले पनि यो उपाधि जितेको छ ।

सन् २०१० को विश्वकपयता यी दुई टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक रहेको छ । पछिल्ला ८ खेलमा स्पेनले २, पोर्चुगलले १ जित हासिल गरेको छ भने बाँकी खेल बराबरीमा टुंगिएका छन् । सन् २०१८ को विश्वकपमा भएको ३-३ को रोमाञ्चक बराबरी उनीहरूको प्रतिस्पर्धाको उत्कृष्ट उदाहरण हो । पछिल्ला ५ खेलमा दुवै टोलीले क्लिनसिट राख्न सकेका छैनन्, जसले आजको खेल गोलमय हुने संकेत गर्छ ।

पोर्चुगलले सेमिफाइनलमा जर्मनीलाई २-१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो । युभेन्टसका विङ्गर चिको कोन्सेइसाओ र कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए। ४० वर्षीय रोनाल्डो तेस्रो नेशन्स लिग उपाधि र व्यक्तिगत रूपमा सर्वाधिक गोल कर्ता क्रिस्टियानो रोनाल्डोले भने, “हामी ट्रफी जित्न चाहन्छौँ ।  हरेक खेल जित्न सकिँदैन, तर आइतबार पोर्चुगलका लागि विशेष दिन हुने आशा छ ।”

प्रशिक्षक रोबर्टो मार्टिनेजले स्पेनविरुद्धको खेललाई आत्मबल र दृढताको कसीका रूपमा लिएका छन् । “सेमिफाइनलजस्तै प्रदर्शन गर्न सक्यौं भने उपाधि जित्न सक्छौँ। स्पेन बलियो टोली हो, तर यो खेल रणनीतिभन्दा पनि मानसिक बलको हो,” उनले भने । गोनसालो र बायर्न म्युनिखका डिफेन्डर राफाएल गुएरेइरो टोलीमा फर्किएर फाइनलको तयारीमा जुटेका छन् ।

स्पेनले सेमिफाइनलमा फ्रान्सलाई ५-४ को रोमाञ्चक स्कोरमा हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । १७ वर्षीय सनसनी लामिन यामालले २ गोल गरे भने निकोल विलियम्स, मिकेल मेरिनो र पेड्रीले पनि गोल थपे । यो खेल नेशन्स लिग इतिहासकै सर्वाधिक गोल भएको खेल बन्यो ।

प्रशिक्षक लुइस डे ला फुएन्टेले फाइनलका लागि सबै खेलाडी उपलब्ध रहेको बताएका छन् । यामालबारे उनले भने, “उनको उमेरअनुसारको परिपक्वता असाधारण छ । हामी उनको विकासमा निरन्तर साथ दिइरहेका छौँ ।” डे ला फुएन्टे यो खेल जिते स्पेनका सर्वाधिक उपाधि जित्ने प्रशिक्षक बन्नेछन् ।

स्पेनका स्ट्राइकर मिकेल ओयार्जाबालले भने, “हामी कुनै पनि टोलीलाई हराउन सक्षम छौँ। हाम्रो टोलीमा आत्मविश्वास छ, र हामी उपाधिका लागि कडा मेहनत गर्नेछौँ ।”

प्रतिक्रिया दिनुहोस्