काठमाडौं । सशस्त्र प्रहरीले देशभरको सीमा हुने अपराधिक गतिविधि, चोरी तस्करी र अवाच्छित गतिविधि रोक्ने जिम्मेवारी पाएको छ । कतिपय सीमा क्षेत्रका जिल्लाहरुमा सशस्त्र प्रहरीकै संयन्त्रको मिलेमतोमा सीमा क्षेत्रमा गैरकानुनी आर्थिक कारोबार र तस्करी मौलाएको समाचारहरु आउने गरेका छन् । सीमापार अपराधजन्य गतिविधि नियन्त्रणमा दलहरूका दबाब र प्रभाव प्रमुख चुनौती रहेपनि त्यसमा सशस्त्र प्रहरीमा गणपति, गुल्मपति र बीओपीमा खटिएका अधिकारीहरुको समेत संलग्नता हुने गरेको समाचार आउने गरेका छन् ।

भारतसँग सीमा जोडिएका झापा, मोरङ र सुनसरी, सिराह, सप्तरी, धनुषा, बाँके बर्दिया, दाङ, कैलाली, रुपन्देही, कपिलवस्तु जस्ता जिल्लामा खटिएका एसपीहरुको बारेमा सधै गुनासो मात्र आउने गरेको छ । सीमापार तस्करी मौलाउनुमा मन्त्रालयदेखि सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, भन्सारका कर्मचारी, व्यापारी र राजनीतिक दलको संलग्नता रहेका विषयमा सशस्त्र प्रहरीको सीमा सुरक्षा विभाग मौन रहेको छ ।
नेपालको भारतसँग २६ र चीनसँग १४ जिल्लाको सीमा जोडिएको छ । चीनसँग भौगोलिक विकटता र सीमित नाका, त्यो पनि नियन्त्रित आधारमा कारोबार हुन्छ । भारतसँग खुला सिमानाका कारण दक्षिणका नाकाबाट तस्करी मौलाउने गरेको छ । विगत केही महिनादेखि २९ नम्बर गण दाङका एसपी मनोज धितालको आर्थिक लेनदेनको विषयमा सशस्त्र प्रहरी मुख्यालयमा उजुरी परेको छ । गृहमन्त्रालय र अन्य निकायमा पनि उजुरी परेको छ ।
भारतीय सिमानामा बिनारोकतोक आउजाउ हुन्छ । तर, ठूला तथा मझौला गरी तीन दर्जन नाकामा मात्रै सवारीबाट आउजाउ हुन्छ । यसबाहेक ६ दर्जनभन्दा बढी चेकप्वाइन्ट पनि आउजाउ गर्ने बाटो हो । भारततर्फ सशस्त्र प्रहरीका २ सय २० स्थानमा मात्रै बोर्डर आउट पोस्ट (बीओपी) तैनाथ छन् । त्यसमध्ये धेरैजसो बीओपी दशगजाबाट ५ किमिभित्र रहेका छन् ।
भाडामा प्रयोग हुने भारतीय सवारीसाधन तथा मानिसहरूबाट जुनसुकै बेला सुरक्षा चुनौती हुन सक्ने अवस्था रहे पनि त्यस्ता सवारी र शंकास्पद मानिसको निगरानीमा सशस्त्र प्रहरीका जिल्लास्थित कमाण्डहरु कमजोर रहेको स्रोतको दाबी छ ।
आवागमनको बहानामा अवैध कारोबार र तस्करी भए पनि त्यसलाई भन्सार र सीमा क्षेत्रमा तैनाथ सुरक्षा संयन्त्रले बेवास्ता गर्दै आएको पनि स्रोतको दाबी छ । आफू मातहतका कर्मचारिको बदमासी बाहिर आएपछी छनबिन प्रक्रिया अघि बढ्नु पर्नेमा अहिले त्यसो हुन सकेको छैनन ।
भन्सार छली र चोरी÷निकासी तथा तस्करीका लागि व्यापारीले दुवै देशका सीमा क्षेत्रबाट १ हजार ५ सयभन्दा बढी ‘पोके गिरोह’ लाई परिचालन गर्ने गरेको प्रहरी र सशस्त्रका आन्तरिक अनुसन्धानबाट खुले पनि नियन्त्रण गर्न अहिलेसम्म चासो दिइएको छैन ।
त्यस्ता गिरोह सामान तस्करी गर्न रातिको निश्चित समयलाई प्रयोग गर्ने र त्यसमा प्रहरी, सशस्त्र र भन्सारका कर्मचारीले मिलेमतोमा अनदेखा गर्दा राजस्व छलीबाट भित्रिएका सामान बजारमा पुग्ने गरेको देखिन्छ । सीमा सुरक्षामा सशस्त्रका २ सय २० र प्रहरीका ६० भन्दा बढी युनिट भारततर्फ तैनाथ छन् ।











