
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज दोस्रोपटक नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा तीन सुपर ओभरसम्म पुगेर नेदरल्यान्ड्ससँग हार व्यहोरेको नेपाल आजको खेलमा बदला लिने दाउमा छ । यो खेल साँझ ७ः ४५ बजे सुरु हुनेछ ।
नेपालले दुई खेलमा एक जित र एक हारका साथ २ अंक जोडेको छ । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजय भोगे पनि दोस्रो खेलमा आयोजक स्कटल्यान्डलाई २ विकेटले हराएको थियो ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा सोमपाल कामी, गुल्सन झा र नन्दन यादव जस्ता नियमित खेलाडीहरू घाइते भएका कारण लोकेश बम, किरण ठगुन्ना, रुपेश सिंह र बसिर अहमद जस्ता नयाँ खेलाडीहरूलाई अवसर दिइएको छ ।
यस सिरिजका दुई खेलमा आशिफ शेख, आरिफ शेख र भीम सार्कीलाई बेन्चमा राखिएको छ ।














