काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकार नक्कली भुटानी शरणार्थी काण्ड र भिजिट भिसा प्रकरणमा संलग्नहरूलाई जोगाउन लागिपरेको बताएका छन् । राष्ट्रिय किसान सङ्गठन नेपालले धान दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै थापाले यस्ता भ्रष्टाचारका काण्डको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन जनताले बाध्य पार्ने बताए ।

थापाले नेपाललाई कृषिप्रधान देश भनिए पनि धान रोप्ने समयको आधा अवधि बितिसक्दा पनि किसानले पर्याप्त रासायनिक मल नपाएको गुनासो गरे । उनले सरकारले किसान, मजदुर र युवाहरूको हितमा ठोस काम गर्न नसकेको र भ्रष्टाचार र ब्रह्मलुटमा लिप्त भएको आरोप लगाए ।
उनले जनताको दबाबमा गिरिबन्धु टी स्टेट जग्गा, वाइडबडी जहाज खरिद, यती-ओम्नी काण्ड, माओवादी नक्कली लडाकु घोटाला लगायतका भ्रष्टाचारका फाइल खोलिने र दोषीले उन्मुक्ति नपाउने दाबी गरे ।
थापाले २०८४ को निर्वाचनमा जनताले कांग्रेस, एमाले र माओवादीलाई मत नदिने मनस्थिति बनाइसकेको बताउँदै जनता विकल्पको खोजीमा रहेको उल्लेख गरे । राप्रपा नेपालले आफ्नो एजेन्डालाई जनतामाझ प्रभावकारी ढङ्गले प्रस्तुत गरी विकल्पको रूपमा स्थापित हुनुपर्ने आवश्यकता रहेको उनले बताए ।
कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्षहरू डा.विष्णु भण्डारी, तेजकुमार कुरुङ्वाङ, महामन्त्री इन्द्र चित्रकार, किसान संगठनका अध्यक्ष डम्बर प्रसाद शिवाकोटी, ज्ञानेश्वर उपाध्याय लगायतले सम्बोधन गरेका थिए ।














