
काठमाडौं । पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालीकोटको गगने खोलामा रातिदेखिको लगातार वर्षासँगै ठूला ढुंगासहितको पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।
गगने खोलामा बिहान ६ बजेदेखि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । सडक खुलाउन हेभी मेसिनसहित जनशक्ति परिचालन गरिएको सडक डिभिजन जुम्लाले जनाएको छ ।
वर्षा जारी रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न यात्रुहरूलाई आग्रह गरिएको छ । सडक अवरुद्ध हुँदा जुम्लादेखि सुर्खेत, नेपालगन्जतर्फ जाने मालबाहक र यात्रुबाहक सवारी साधन रोकिएका छन् ।














