काठमाडौं । नेपाल शिक्षक महासङ्घ र शिक्षा मन्त्रालयबीचको वार्ता सहमति बिना टुङ्गिएको छ । शिक्षक पदपूर्तिका लागि मन्त्रालयले प्रस्ताव गरेको ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाको प्रस्तावमा महासङ्घले असहमति जनाएपछि वार्ता निष्कर्षविहीन भएको हो । महासङ्घले पनि सोही अनुपातमा पदपूर्तिको माग राखेको छ, तर सहमति जुट्न सकेन ।

वार्तामा महासङ्घका महासचिव तुलाबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष हंस साही, शिक्षक सङ्घका अध्यक्ष सोमनाथ गिरि र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारी सहभागी थिए । मन्त्रालयले प्रतिनिधि सभा, शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक रोकेर छलफल गरेको थियो । समितिको बैठक सोमबार बिहान ८ बजे तय भएकोमा दिउँसो २ बजे सरेको थियो, तर सहमति नहुँदा बैठक सुरु हुन सकेन ।
सहमति जुटेमा विद्यालय शिक्षा विधेयक समितिबाट पास भई प्रतिनिधि सभामा प्रस्तुत हुनेछ । त्यसपछि राष्ट्रिय सभाको प्रक्रिया पूरा गरी राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन बन्नेछ। निजी विद्यालयको व्यवस्थापन, ईसीडी र शिक्षकका माग मुख्य विवादका विषय बनेका छन् ।














