
काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने भएको हो । बैठकमा आर्थिक वर्ष २०८२–०८३ को बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बैठकमा दुईवटा मुख्य कार्यसूची रहेको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–०८३ को राजस्व र व्ययको वार्षिक अनुमान’ माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेस गर्नेछन् ।
सो प्रस्तावमाथि सभामा छलफल हुनेछ भने छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ मन्त्री कार्की स्वयंले दिने कार्यसूची छ । त्यस्तै मन्त्री काकीले नै ‘आर्थिक वर्ष ०८२–०८३ को विनियोजन विधेयक’ पनि प्रदेश सभामा पेस गर्नेछन् । यसअघि प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गरेको थियो ।














