Logo
Logo

कुलिङ पिरियडमा जालसाझी विश्वकै लाजमर्दो राजनीतिक ठगी : बाबुराम


441
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सङ्घीय निजामती सेवा विधेयकबाट ‘कूलिङ अफ पिरियड’ प्रावधान जालसाजीपूर्ण ढङ्गले हटाइएको घटनालाई विश्व इतिहासकै लज्जास्पद राजनीतिक ठगीको संज्ञा दिएका छन् ।

The current image has no alternative text. The file name is: babbaba.gif

संसदको राज्य व्यवस्था समितिबाट पारित उक्त प्रावधानले सरकारी कर्मचारीले अवकाश वा राजीनामा पछि ठुलो सरकारी जिम्मेवारी लिन दुई वर्ष कुर्नुपर्ने व्यवस्था गरेको थियो । मङ्गलवार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै डा। भट्टराईले यो प्रावधान संसदबाट पारित गराउनुअघि कपटपूर्ण तरिकाले हटाइएको भन्दै नेपालको राजनीतिक नेतृत्व र राज्य संरचनाबीचको गहिरो साँठगाँठलाई यो घटनाले उदाङ्गो पारेको बताए ।

‘संसदीय समितिबाट पारित कूलिङ अफ पिरियडको प्रावधानलाई जालसाजीपूर्ण ढङ्गले हटाएर संसदबाट पारित गराउनु नेपालमा मात्र नभई विश्व इतिहासकै सबैभन्दा निकृष्ट र लज्जास्पद राजनीतिक ठगी हो,’ उनले लेखे । भट्टराईका अनुसार उच्च तहको कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबीचको साँठगाँठकै कारण राज्यदोहन, राष्ट्रघात र जनविरोधी अपराधहरू भइरहेका छन् । ‘यो घटनाले कति ठुला राज्यदोहनकारी, राष्ट्रघाती र जनविरोधी अपराधहरू भइरहेका वा हुन सक्ने रहेछन् भन्ने जिउँदो प्रमाण दिएको छ,’ उनले भने ।

यो घटनाको निन्दा र भर्त्सना मात्र गरेर नपुग्ने भन्दै भट्टराईले राज्य प्रणालीको अग्रगामी पुनर्संरचनाको आवश्यकता औँल्याए । ‘टालटुले सुधारले काम गर्दैन । समग्र राजनीति र राज्य प्रणालीको लोकतान्त्रिक, समाजवादी पुनर्संरचनाका लागि हाम्रो वैकल्पिक राजनीतिक अभियान केन्द्रित छ,’ उनले भने ।

पूर्वप्रधानमन्त्री भट्टराईले यस्ता कपटपूर्ण अभ्यासहरू रोक्न र पारदर्शी तथा जवाफदेही शासन व्यवस्था सुनिश्चित गर्न नेपालको राज्य प्रणालीमा आमूल परिवर्तनको आवश्यकता रहेको जोड दिए ।

प्रतिक्रिया दिनुहोस्