काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । नेप्से बढेर २७०० विन्दुभन्दा माथि बन्द भएको छ । नेप्से परिसूचक साढे २ महिनापछि २७०० विन्दुमाथि बन्द भएको हो । यस अघि गत वैशाख ७ गते नेप्से २७०० विन्दुमाथि बन्द भएको थियो ।

बिहीबार नेप्से परिसूचक ९.१४ अङ्क बढेर २७०३.९६ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.१९ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.०२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८५ अङ्क बढेको छ ।
नेप्से बढेपनि कारोबार रकम भने सामान्य घटेको छ । बुधवार ९ अर्ब ७४ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३११ स्टकको ९६ हजार ४११ पटकको कारोबारमा ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैयाँबराबरको २ करोड ४९ लाख ७६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
नेपाल फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो फाइनान्सको सेयरमूल्य ६३ रुपैयाँ २ पैसा बढेर ६९४ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, यस दिन खानीखोला हाइड्रोपावर कम्पनी र समृद्धि फाइनान्सका सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३१ करोड ६८ लाख रुपैयाँबराबरका सेयर खरिदबिक्री भएको छ । त्यसैगरी, साहस उर्जाको २७ करोडभन्दा बढीको सेयर किनबेच भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको २६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.०९ प्रतिशत बढेको छ । त्यसतै, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैङ्क र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.२९ प्रतिशत घटेको हो ।











