Logo
Logo

आइजीको सचिवालयकै अधिकृतहरु कमाउधन्दामा


32.1k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पदबहाली गरेकै दिनदेखि संगठनभित्र सुशासन कायम गर्न सादा पोशाकमा घुमुवा नराख्ने नीति अंगीकार गर्दैआएका छन् । सशस्त्र प्रहरी बलले सादा पोशाकमा घुमुवा नराख्न पटक–पटक परिपत्र गरिसकेको छ ।

होम ज्ञवाली र सुदीप रेग्मी

तर आईजीपीको सचिवालयको उजुरी छानबिन र अनुगमन शाखाका डिएसपी सुदीप रेग्मीले मधेश प्रदेशका सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा घुमुवा परिचालन गरी सशस्त्र मुख्यालयकै नाममा गुल्मपतिदेखि बीओपीका इन्चार्ज र तस्कर दुबैतिरबाट लाभ लिने गरेको आरोप छ ।

सशस्त्र प्रहरीमा निरीक्षकदेखि माथिका अधिकृतको हरेक १ बर्षमा सरुवा हुन्छ, तर डिएसपी रेग्मी ३ बर्षदेखि सचिवालयको अनुगमन शाखामै कार्यरत रहेका छन् । डिएसपी रेग्मीले जागिर खाएदेखि नै सादा पोशाकमा घुमुवा खटाएर तस्करसँग सेटिङ गरी अकूत लाभ लिंदैआएका सहायक हवल्दार सन्तोष यादव, रोशन मिश्र, हवल्दार राजीव यादव, जवान सुनिल यादव लगायतको टोली मधेशका जिल्लामा सादा पोशाकमा खटाएका छन् ।

समाचार स्रोतका अनुसार रेग्मीले खटाएका १२ नम्बर गण बारामा दरबन्दी भएका घुमुवा सन्तोष यादव र २२ नम्बर गण भक्तपुर दुवाकोट दरबन्दी भई १२ नम्बर गणमा काजमा खटाइएका सुनिल यादवले हालसालै बारामा मोलमोलाई नमिलेपछि एक ब्यापारीको कपडा बरामद बरामद गरी अर्को गाडीमा लोड गर्दै गरेको भिडियो दृष्टिलाई प्राप्त भएको छ ।

उक्त भिडियोमा हेल्मेट लगाएका र हाफपाइन्ट लगाएका यादवद्वयले कपडा बरामद गरेको स्पष्ट देखिन्छ । सादा पोशाकमा खटिएका उनीहरुले खेना नामक ब्यापारीसँग सुरुमा मोलतोल गरी नमिलेपछि कपडा बरामद गरेको भिडियोले नै स्पष्ट पारेको छ । सादा पोशाकका सशस्त्र प्रहरीलाई बरामद गर्ने अधिकार नै हुँदैन । तर मुख्यालयबाट खटिएका उनीहरुले मधेशका जिल्लामा अधिकार क्षेत्र नाघेर यस्तो हर्कत गर्दैआएका छन् ।

सन्तोष यादव र सुनिल यादवलाई मुख्यालयबाट घुमुवाका रुपमा रेग्मीले बारा र महोत्तरीमा परिचालन गरेका छन् । सन्तोष घुमुवा अप्रेसनमा २ बर्षअघि २० नम्बर गण सिनामंगलमा तानिएका थिए । सिनामंगलमा हुँदा पनि डीएसपी रेग्मीले उनलाई मधेशमा पठाएपछि विवादमा परेका थिए ।

पछिल्लो पटक सरुवा नै मिलाएर उनी १२ नम्बर गण बारामा गएका छन् । १२ न. गणका एसपी सन्तोषबहादुर सिंहलाई रमानापत्र बुझाएपछि उनी कहाँ खटिएका छन्, गणका कसैलाई पनि थाहा नभएको स्रोत बताउँछ । मधेशका जिल्लामा तस्कर र गुल्मपति र बीओपीका इन्चार्जहरुबाट समेत सहायक हवल्दार सन्तोषले मुख्यालयका रेग्मीको नाममा रकम माग्ने गरेको आरोप छ ।

डिएसपी रेग्मीले हवल्दार राजीव यादवलाई धनुषामा खटाएका छन् भने सहायक हवल्दार रोशन मिश्रलाई सर्लाहीमा खटाएका छन् । करिब डेढ महिनाअघि चीनको नास्पाती सर्लाहीको मधुवनी बोर्डर पार गरी भारततर्फ गएपछि एसएसबीले फिर्ता पठाएको थियो ।

एसएसबीले तस्करीको नास्पाती फर्काएपछि प्रहरी र सशस्त्रका अधिकारीहरुको पोल खुल्ने त्रासमा जिल्लादेखि बाहिनीपतिलाई समेत भयो । घुमुवा रोशन मिश्रले स्थानीयलाई उकासेर आक्रमण गर्न लगाई हवाई फायरिङ नै गराई ६ गाडी नास्पाती भारततर्फ भगाएको भनी विज्ञप्ति निकालेर ढिसमिस पारिएको थियो ।

डिएसपी रेग्मीले मुख्यालयबाट खटाएका घुमुवा सन्तोष यादवहरुलाई असहयोग गरेपछि महोत्तरीका एक गुल्मपति र बीओपीका इन्चार्जलाई नै केही दिनअघिद्ध सरुवा गरिएको थियो । सन्तोष र सुनिल प्रतिनिधि पात्र हुन्, जीवनभर सादा पोशाकमा खटिने, मासिक लाखौैं असुल्नेहरुलाई डिएसपी रेग्मीले मधेश प्रदेशमात्र होइन लुम्बिनी प्रदेशका रुपन्देही, कपिलबस्तु, बाँके जस्ता जिल्लामा पनि खटाउँदै लाभ लिने गरेका छन् ।

यसैगरी, आर्थिक प्रशासनका एसएसपी होम ज्ञवालीले पनि आर्थिक बर्षको अन्तिममा बजेट सक्नका लागि आफ्ना विश्वासपात्रहरु इन्चार्ज र लेखापाल भएका गणहरुमा बजेट पठाउने र आधा हिस्सा कमिसन लिने काम गर्दा पनि उनले रोक्न नसकेको आरोप छ । ज्ञवालीले खर्च हुन बाँकी रहेको बजेटबाट गतबर्ष क्यामरा किनेका थिए भने यो बर्ष पनि बिभिन्न सामान खरिदको बहानामा करोडौं रुपैयाँ गणहरुमा पठाउनेगरी सेटिङ मिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्