काठमाडौं । द इन्साइट भिजन सेकेन्डरी स्कूल र राजधानी क्याम्पसले एएफसी महिला एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी नेपाली राष्ट्रिय टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ सहित १० महिला फुटबलरलाई बुधवार नगद पुरस्कार र छात्रवृत्तिसहित सम्मान गरेको छ ।

धुम्बाराहीस्थित स्कूलमा आयोजित कार्यक्रममा कप्तान सावित्रा, अनिता बस्नेत, रेखा पौडेल, सविता रानामगर, पूजा राना, पूर्वकप्तान अनु लामा, हिराकुमारी भुजेल, सावित्री किसान, कुसुम खतिवडा र सुनकला राईलाई जनही १० हजार रुपैयाँ नगद र १८ लाखभन्दा बढी मूल्यको छात्रवृत्तिसहित सम्मान गरिएको हो ।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ४ का वडाध्यक्ष दिनेश महर्जन, स्कुलका संस्थापक प्रधानाध्यापक भीमकुमार श्रेष्ठ र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का सहायक महासचिव दामोदर (बद्री) भट्टराईले खेलाडीहरूलाई नगद, सम्मानपत्र र छात्रवृत्ति प्रदान गरे ।
वडाध्यक्ष महर्जनले महिला फुटबलमा लगानी बढाउनुपर्ने बताउँदै भने, “महिला टोलीले सीमित स्रोतमा पनि देशका लागि उत्कृष्ट प्रदर्शन गरेको छ । उनीहरू हाम्रा समाजका सच्चा हिरो हुन्। खेलाडीहरूको हौसला बढाउन खेलकुदमा थप लगानी आवश्यक छ । ”स्कुलका संस्थापक प्रधानाध्यापक श्रेष्ठले भने, “हाम्रा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा देशको इज्जत बढाएका छन् । हामीले उनीहरूको सम्भावना देखेर विगत चार वर्षदेखि महिला फुटबलरलाई छात्रवृत्ति प्रदान गर्दै आएका छौँ । हाल सावित्रासहित १० जना खेलाडीले पूर्ण छात्रवृत्तिमा बिबिएस अध्ययन गरिरहेका छन् । हामी यस्तै सहयोगमार्फत खेलाडीको मनोबल बढाउँदै जानेछौं ।”
सम्मान ग्रहणपछि कप्तान सावित्राले भनिन्, “शिक्षा हाम्रा लागि निकै महत्वपूर्ण छ। फुटबलसँगै औपचारिक शिक्षालाई अगाडि बढाउने अवसर दिएकोमा द इन्साइट भिजन र राजधानी क्याम्पसलाई हार्दिक धन्यवाद ।”द इन्साइट भिजन सेकेन्डरी स्कूल र राजधानी क्याम्पसमा एकै व्यवस्थापनअन्तर्गत पुरुष राष्ट्रिय टोली र उमेर समूहका १४ जना फुटबलरले पनि छात्रवृत्तिमा अध्ययन गरिरहेका छन्। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता सावित्रासहित पूजा, अनिता, रेखा र सविताले तास्कन्दमा भएको एसियन कप छनोट खेलेका थिए । नेपालले छनोटको पहिलो खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलंकालाई ८–० ले पराजित गरेको थियो । तर, अन्तिम खेलमा उज्वेकिस्तानसँग ३–३ को बराबरीपछि टाइब्रेकरमा पराजित हुँदा नेपाल अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा छनोट हुन असफल भएको थियो ।














