काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अङ्क बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्सेले, आज मङ्गलवार पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

साउन १ गते, बिहीबार नेप्से परिसूचक ७५.८४ अङ्क बढेर २८७०.६३ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.२२ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ५.०६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७९ अङ्क बढेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार १४ अर्ब ३ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३११ स्टकको १ लाख ४१ हजार ४३४ पटकको कारोबारमा १६ अर्ब ५९ करोड २१ लाख ५ हजार रुपैयाँबराबरको ३ करोड ८६ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम करिब ११ महिनायताकै उच्च हो । यस अघि गत भदौ ११ गते साढे १८ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो । सोपश्चात् आजको कारोबार रकम नै बढी हो ।
तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ट्रेड टावर, शुभम पावर र थ्रिस्टार हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, इष्टर्न हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशत बढेको छ भने बाराही हाइड्रोपावर पब्लिकको सेयर मूल्य ९ प्रतिशत बढेको छ । कारोबारमा आएको एनआईबिएल स्टेबल फण्डको इकाईमूल्य सर्वाधिक ७.५८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८४ करोड ४२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, बुटवल पावर कम्पनीको साढे ६० करोडभन्दा बढीको सेयर किनबेच भएको छ भने राधी विद्युत कम्पनीको कारोबार रकम साढे ५६ करोड नाघेको छ ।
यस्तै, १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ५.०९ प्रतिशत बढेको छ । त्यस्तै, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।











