काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ । खेल बंगलादेशको ढाकास्थित किङ्स एरेनामा नेपाली समयअनुसार दिउँसो २ः४५ बजेदेखि सुरू हुनेछ ।

जारी प्रतियोगितामा नेपालले भुटानसँग दोस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोलले हराएको थियो । आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको आधारमा खेल भइरहेको छ ।
नेपालले श्रीलंकासँग दुई खेल खेलिसकेको छ । दुवै खेलमा नेपाल ७–० गोलले विजयी भएको थियो । आयोजक राष्ट्र बंगलादेशसँग पहिलो खेलमा ३–२ गोलले हारेको थियो । नेपालले आजको खेलपछि सोमबार बंगलादेशसँग खेल्नेछ ।
नेपालले ४ खेलबाट ९ अंक बटुलेको छ । ३ खेलबाट घरेलु बंगलादेशको ९ अंक छ । लिग चरणपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।














