काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत भुटानसँगको दोस्रो खेलमा नेपालले पहिलो हाफमा ६-० को अग्रता बनाएको छ ।

ढाकास्थित वसुन्धरा किङ्स एरियाको अभ्यास मैदानमा भएको खेलमा पूर्णिमा राईले ह्याट्रिक गरिन् । उनले खेलको तेइसौं मिनेट र थप गरिएको समयमा थप २ गोलसहित ह्याट्रिक पुरा गरेकी हुन् ।
नेपालका लागि मीना देउवाले २ र समीक्षा मगरले १ गोल गरिन् । खेलको पहिलो मिनेटमै नेपालका मिना देउवाले गोल गरिन् ।
खेलको नवौँ मिनेटमा नेपालका लागि समीक्षा मगरले दोस्रो गोल गरिन् । खेलको १२ औँ मिनेटमा नेपालका लागि मिना देउवाले व्यक्तिगत दोस्रो र नेपालका लागि तेस्रो गोल गरिन् ।
खेलको २३ औँ मिनेटमा मिना देउवाले पोस्ट भित्रको दायाँ कर्नरबाट गरेको क्रसलाई पूर्णिमा राईले गोलमा परिणत गरिन् । यो नेपालको लागि चौथो गोल हो ।
पहिलो हाफको थप गरिएको समयमा पूर्णिमाले व्यक्तिगत दोस्रो र नेपालका लागि पाँचौँ गोल गरिन् । पहिलो हाफको सुरुवातमै लगातार तीन गोल खाँदा भुटानले पेमा याङ्जोमलाई प्रतिस्थापन गर्दै सोनमलाई पोष्टको जिम्मा लगाएको थियो ।
पहिलो हाफमा थप गरेको ६ मिनेटको अन्तिम सेकेन्डमा पूर्णिमा राईले व्यक्तिगत ह्याट्रिक पुरा गर्दै नेपालको लागि छैटौँ गोल गरिन्। नेपालले लिगको अन्तिम खेल घरेलु टोली बङ्गलादेशसँग सोमबार खेल्नेछ ।














