
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिपमा आज नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्दैछ । बंगलादेशको राजधानी ढाकास्थित किङ्स एरेनामा सोमबार नेपाली समयअनुसार साँझ ६ः३० मा खेल सुरु हुनेछ ।
आजको खेलमा नेपालका लागि विजेता हुन जितको खाँचो छ । बंगलादेशलाई भने बराबरीले पनि पर्याप्त हुनेछ । यसअघि नेपालले भुटानलाई पहिलो खेलमा ६–१ र दोस्रो खेलमा ८–० गोलले हराएको थियो । यस्तै नेपालले श्रीलंकालाई दुवै खेलमा ७–० गोलले हराएको थियो ।
बंगलादेशविरूद्ध भने नेपाल ३–२ गोलले पराजित भएको थियो । नेपालले पाँचमध्ये चार खेलमा जित निकालेको थियो भने बंगलादेश पाँचै खेलमा विजयी भएको छ । गोलअन्तरमा नेपाल अघि छ । त्यसैले नेपालका लागि उपाधि जित्न खेलमा जित नै चाहिने हुन्छ ।














