काठमाडौं । अस्ट्रेलियामा हुने टप इण्ड टि ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग खेल्ने बङ्गलादेश ‘ए’ को टोली घोषणा भएको छ । बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी) ले सोमवार प्रतियोगिताका लागि आफ्नो १५ सदस्यीय टोली घोषणा गरेको हो । नुरुल हसन सोहनको कप्तानीमा घोषित टोलीमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका धेरै खेलाडी रहेका छन् ।

टोलीमा बङ्गलादेशका लागि तीनै फर्म्याटको क्रिकेट खेलेका खेलाडी छन् । नर्दन टेरिटोरी क्रिकेट अस्ट्रेलियाको आयोजनमा अगस्ट १४ देखि २४ सम्म हुने प्रतियोगितामा बङ्गलादेश ‘ए’ को पहिलो खेल पाकिस्तान ‘ए’ सँग छ । नेपालले भने १६ अगस्ट (साउन ३१) मा बङ्गलादेश ‘ए’ टिमसँग खेल्नेछ । नेपालले सोमवार रोहित कुमार पौडेलको कप्तानीमा टोली घोषणा गरेको थियो ।
एनटीको आयोजनामा हुने टप इण्ड सिरिजमा ११ टोलीको सहभागिता रहनेछ । सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।
त्यस्तै सिरिजमा बिबिएलका हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेट स्ट्राइकर, मेलवर्न स्टार तथा मेलवर्न रेनेगड्सका एकेडेमी टोलीहरुको सहभागी हुने छन् ।
स्थानीय दुई टोली प्रतियोगितामा सहभागिता रहने छ । खेलतालिका अनुसार खेलहरू ५ वटा स्थानीय मैदानमा हुनेछ । अगस्ट १४ मा पाकिस्तान ‘ए’ र बङ्गलादेश ‘ए’ को बीचमा उद्घाटन खेल हुनेछ ।
खेल तालिका अनुसार नेपालको पहिलो खेल अगस्ट १५ (साउन ३०) मा नर्दन टेरिटोरी स्ट्राईकसँग खेल्ने छ । दोस्रो खेलमा नेपालले १६ अगस्ट मा बङ्गलादेश ‘ए’ टिमसँग खेल्नेछ । तेस्रो खेलमा मेनवर्न स्टारको एकेडेमी टिमसँग १८ अगस्ट (२ भदौ) मा बिहान हुनेछ ।
चौथो खेलमा होर्बट हरिकेन्सको एकेडेमी टोलीसँग १९ अगस्ट (भदौ ३) खेल्नेछ । पाँचौँ खेल २० अगस्ट (भदौ ४) मा मेलवर्न रेनेगेड्सको एकेडेमी टोलीसँग खेल्नेछ । छैटौँ खेलमा अगस्ट २२ (भदौ ६) मा पाकिस्तान ‘ए’ टोलीसँग खेल्नेछ । नेपालले समूह चरणमा ६ खेल खेल्नेछ । लिग चरणको शीर्ष ४ मा रहने टोलीका बीचमा सेमिफाइनल हुनेछ । सेमिफाइनल र फाइनलका खेल २४ अगस्ट (भदौ ८) मा हुनेछ ।
बङ्गलादेश ‘ए’ टोली
नुरुल हसन सोहन (कप्तान), मोहम्मद सैफ हसन, मोहम्मद नैम, जिशान आलम, महिदुल इस्लाम भुइयान, यासिर अली चौधरी, अफिफ हुसेन ध्रुबो, तुफयल अहमद, मोहम्मद मृत्युन्जय चौधरी, रकिबुल हसन, महफुजुर रहमान रब्बी, नईम हसन, मुस्फिक हसन, रिपन मन्डोल, हसन महमुद











