काठमाडौं । काठमाडौंको भृकुटीमण्डमा जारी नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनद्वारा आयोजित ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ अवलोकनकर्ताको संख्या बढिरहेका छन् । बुधबारदेखि जारी एक्स्पोमा शुक्रबार मात्रै १९ हजार ५ सय जनाले अवोलकन गरेको आयोजकले जनाएको छ ।

तीन दिनमा ४७ हजार ५ सय जनाले एक्स्पोको अवलोकन गरेको नाइमाले जनाएको छ । यी तीन दिनको तुलनामा शनिबार अझ अवलोकनकर्ता बढ्ने अपेक्षा गरिएको छ । आयोजकका अनुसार बुधबार १५ हजार, बिहीबार १३ हजार र शुक्रबार १९ हजार ५ सय जनाले एक्स्पोको अवलोकन गरेका थिए । शनिबार भने २० हजार बढीले अवलोकन गर्ने आयोजकको विश्वास छ ।
नाइमाको मिडिया एन्ड मार्केटिङ कन्सल्टेन्ट प्रतीक अर्यालका अनुसार एक्स्पो हेर्न समय थप गरिएकाले अवलोकनर्ता निरन्तर बढिरहेका छन् । बिहीबारदेखि नाइमाले एक्स्पोको समय अवधि बिहान ११ देखि राति ८ बजेसम्म राखेको छ ।

पाँच दिनसम्म चल्ने प्रदर्शनी ८० हजारले अवलोकन गर्ने नाइमाको अपेक्षा छ । एक्स्पोको पहिलो दिन प्रायः कम्पनीले गाडीका नयाँ मोडल सार्वजनिक गरेका थिए । दोस्रो दिन नयाँ मोडलसँगै अफर सार्वजनिक गरिएको छ ।
प्रायः कम्पनीले नाइमा एक्स्पोमा दिएको अफर आउने दसैंतिहारसम्म रहनेसमेत बताएका छन् । नाइमा एक्स्पोका अवसरमा कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले चाडपर्वको अवसरमा ‘किया फेस्टिभ ड्राइभ’ अभियान सार्वजनिक गरेको छ । यो अभियान विशेष छुट, आकर्षक अफर र सुविधासहित उत्सवको रौनक अझ बढाउने उद्देश्यले ल्याइएको जनाएको छ ।

अभियानअन्तर्गत ग्राहकले चुनिएका किया मोडलमा अधिकतम १० लाख रुपैयाँसम्मको नगद फिर्ता पाउनेछन् भने एक वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स प्याकेज पनि उपहारस्वरूप पाउनेछन् । किया नेपालले नाइमा एक्स्पोअन्तर्गत सीमित समयका लागि थप चाडपर्व छुट पनि उपलब्ध गराएको छ ।
नाइमा एक्स्पोको अवसरमा भारतीय मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेट नेपाल भित्रिएको छ । एक्स्पोमा केडिया इन्टरनेसनलसँगको रणनीतिक साझेदारीमार्फत अल्ट्राभायोलेट एफ ७७ म्याक २ रिकन सार्वजनिक गरिएको हो ।
उक्त मोटरसाइकलले पहिलो दिनदेखि नै सवारीप्रेमी र वातावरणप्रति सजग युवाको उल्लेखनीय ध्यान खिचेको कम्पनीको दाबी छ । मोटरसाइकल ‘प्याराल्याक्स’ र ‘राडार’ नामक सूचना प्यानल थिममा आधारित छ । मोटरसाइकलमा ३० किलोवाटको ब्याट्री, अधिकतम १५५ किलोमिटर प्रतिघण्टा गति रहेको कम्पनीको दाबी छ ।
यस्तै, मोटरसाइकलमा १० दशमलव ३ किलोवाट घण्टा क्षमताको धूलो तथा पानी प्रतिरोधी ब्याट्री राखिएको कम्पनीले जनाएको छ । ब्याट्रीको ग्यारेन्टी ८ वर्ष वा ८ लाख किलोमिटरसम्म विस्तार गर्न सकिने सुविधा दिइएको छ । प्रदर्शनीमा १२ महिनासम्म शून्य ब्याजदरमा सुलभ ऋण, एक्सचेन्ज गर्दार् एक लाख रुपैयाँ नगद छुट, दुई लाख रुपैयाँ अग्रिम भुक्तानीपछि तीन लाख रुपैयाँ ६ महिनासम्म शून्य ब्याजमा किस्तामा तिर्न सकिने कम्पनीले बताएको छ । बाँकी रकममा साधारण ब्याजदर लाग्नेछ ।
नाइमा एक्स्पोमा बीवाईडी सिगल (एट्टो–१) मा ग्राहक तथा अवलोकनकर्ताको उच्च आकर्षण देखिएको छ । सिगल (एट्टो–१) को डाइनामिकको २८ लाख ९५ हजार र प्रिमियमको ३२ लाख ९९ हजार २९ लाख रुपैयाँ पर्नेछ । एक्स्पो अवधिका लागि विभिन्न अफर ल्याएको छ ।
एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नाइमा एक्स्पो अवधिका लागि विभिन्न अफर घोषणा गरेको छ । यो अफर एमजी ४ ईभी (कम्फर्ट, डिलक्स भेरियन्ट), एमजी एसछ ईभी (कम्फर्ट, लक्जरी भेरियन्ट), विन्डसर ईभी (एक्साइट, एक्सक्लुसिभ भेरियन्ट), कमेट ईभी (एक्साइट, एक्जिक्युटिभ भेरियन्ट) र एमजी आईएम ६ (प्रिमियम ७५ किलोवाट भेरियन्ट) जस्ता चर्चित मोडेलमा उपलब्ध छ ।
कम्पनीका अनुसार ४ लाख रुपैयाँसम्मको छुट, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र प्रत्येक खरिदमा ३ किलोवाट वा ७ किलोवाट चार्जर निःशुल्क पाइनेलगायत सुविधा छन् । यो एमजीको अहिलेसम्मकै सबैभन्दा आकर्षक अफर रहेको कम्पनीको दाबी छ ।
यो एक्स्पो गाडी देखाउन मात्र होइन, ग्राहकलाई स्मार्ट र ग्रिन मोबिलिटीतर्फ सहज रूपले अघि बढाउने प्रयास रहेको पारामाउन्टका महाप्रबन्धक सुनीलबहादुर क्षेत्रीले बताए । उनले भने, ‘हामीले एमजीको स्वामित्वलाई अझ सहज र पहुँचयोग्य बनाउन यस अफरार्फत अतुलनीय मूल्य प्रदान गरिरहेका छौं ।’ एक्स्पो अवधिमा मात्र उपलब्ध विशेष अफरले आगामी दिनमा उल्लेखनीय रुचि र बुकिङ बढ्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।











