Logo
Logo

नाइमा मोबिलिटी एक्स्पो : बीवाइडी एट्टो-१ र सिलायन-७ लोकप्रिय, साढे पाँच सय बढी बुकिङ


1.5k
Shares

काठमाडौं । गत बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा अटो शो’मा दैनिक अवलोकनकर्ता बढिरहेका छन् । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनद्वारा पहिलोपटक आयोजित ‘नाइमा मोबिलिटी एक्स्पो’ अर्थात नाइमा अटो शोमा अवलोकनकर्तासँगै सवारी बुकिङ पनि बृद्ध भइरहेको आयोजकले जनाएको छ ।

‘नाइमा अटो शो’मा ५० भन्दा बढी ब्राण्डले सहभागी जनाएका छन् । तीमध्ये चर्चित चिनियाँ विद्युतीय गाडी उत्पादन कम्पनी बीवाइडीले अटो शोमा ग्राहक तथा अवलोकनकर्ताको ध्यान खिचिरहेको छ । आइतबार नाइमा अटो शोको पाँचौँ दिन हो । पाँचौँ दिनसम्म आइपुग्दा अवलोकनकर्ता पनि बढिरहेको छ ।

नेपालका लागि एक मात्र बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इन्कका अनुसार शनिबारसम्म ग्राहक तथा अवलोकनकर्ताहरु उत्साहजनकरुपमा बढेका छन् । अवलोकनकर्तासँगै गाडी बुकिङ पनि बढेको साइमेक्स इन्कले जनाएको छ ।

साइमेक्स इन्कका अशुतोष गौतमले भने, ‘शनिबारसम्म ५५० भन्दा बढी बीवाइडी बुकिङ भएको छ ।’ अटो शोको पहिलो दिन बुधबार एक सयको हाराहारीमा बीवाइडी बुकिङ भएको थियो । तर, दोस्रो, तेस्रो र चौथों दिनसम्म आइुपुग्दा बीवाइडी बुकिङ गर्ने बढिरहेको अशुतोषले बताए । शनिबार मात्र करिब दुई सय बुकिङ भएको थियो ।

अशुतोषका अनुसार अटो शोमा सबैभन्दा बढी बीवाइडी एट्टो–१ बुकिङ भएको छ । त्यसबाहेक एट्टो–३ र डल्फिन पनि बुकिङ भइरहेका छन् । एट्टो–३ र डल्फिनको लोकप्रियतापछि साइमेक्स इन्कले बीवाइडी एट्टो–१ र सिलायन–७ नेपाली अटो बजारमा भित्राएको हो । नेपाली अटो बजारका लागि बीवाइडीका यी दुई नयाँ मोडल तथा त्यसका भेरियन्ट ‘नाइमा अटो शो’मा आकर्षण बनेको छ ।

सन् २०२४ भर्सनको एट्टो–३ जस्तै, एट्टो–१ पनि कार पारखीका लागि लोकप्रिय बन्ने कम्पनीको विश्वास छ । गत वर्ष नाडा अटो शोमा बीवाइडी एट्टो ३ र डल्फिनले चर्चा पाएको थियो । त्यससँगै नेपाली अटो बजारमा बीवाइडी लोकप्रिय बनेको थियो । अहिले पनि बीवाइडी एट्टो–३ र डल्फिन लोकप्रिय छ । यसैबेला साइमेक्स इन्कले बीवाइडी एट्टो–१ र सिलायन–७ भित्राएको हो ।

पहिलो पटक नाइमा अटो शोमा प्रदर्शन गरिएको एट्टो–१ र सिलायन–७ को बुकिङलाई हेर्ने हो भने पनि बीवाइडीका यी दुवै मोडल ग्राहकले रुचाएका स्पष्ट हुन्छ । सिलायन–७ को पनि धमाधम बुकिङ भइरहेको अशुतोषले बताए । अटो शोको चौथों दिनसम्म आइपुग्दा एट्टो–१ र सिलायन–७ दुवैको बुकिङ बढिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्