Logo
Logo

अटो शोमा ‘हटकेक’ बन्यो बीवाइडी एट्टो-१, यस्तो छ विशेषता


630
Shares

काठमाडौं । नाइमा अटो शोमा बीवाइडीको एट्टो–१ कार हटकेक बन्यो । अटोमोबाइल्स आयातकर्ता तथा उत्पादकहरूको संगठन ‘नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन’ (नाइमा)ले पहिलोपटक काठमाडौंमा आयोजना गरेको गरेको उक्त अटो प्रदर्शनीमा चिनियाँ विद्युतीय गाडी उत्पादक कम्पनी बीवाइडीको एट्टो–१ कारले अवलोकनकर्ता एवं ग्राहकको ध्यान तानेको थियो । यससँगै अटो शोमा एट्टो–१ सबैभन्दा बढी बुकिङ हुने कार बनेको छ ।

नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इन्कले भृकुटीमण्डपमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’मा यो कार पहिलो पटक नेपालका लागि सार्वजनिक गरेको हो । चिनियाँ कम्पनी बिवाइडीले पछिल्लो समय संसारभरि धुम मच्चाइरहेको छ । यसका एकसे–एक मोडलले अमेरिकी उत्पादक टेस्लालाई समेत कडा टक्कर दिइरहेको छ । तीमध्ये एक हो एट्टो–१ हो ।

अमेरिका, युरोपसहितका देशका ‘बिवाइडी सिगल’ र ‘बिवाइडी डल्फिन मिनी’ नामले ब्रान्डिङ गरिएको यो कार संसारभरि लोकप्रिय छ । कम्पनीका अनुसार यो कार चिनियाँ बजारमा एकैदिन १० हजारभन्दा बढी बिक्री भएको थियो । विद्युतीय कार बिक्रीमा ‘विश्व कार पुरस्कार’ जितेको बिवाइडीको एट्टो–१ अहिलेसम्म १० लाखभन्दा बढी बिक्री भइसकेको साइमेक्स इन्कका आशुतोष गौतमले बताए । उनका अनुसार उक्त कार नेपालमा सार्वजनिक भएको दुई दिनमै उपभोक्ता आकर्षित गर्न सफल भएको छ ।

साइमेक्स इन्कका अनुसार अटो शोमा एट्टो–१ सोधपुछ गर्ने र बुकिङ गनेको लर्को लागेको थियो । साइमेक्स इन्कका अनुसार एट्टो–१ को विशेषता, मूल्य र अन्य बिद्युतीय गाडीको दाँजोमा यसका फाइदाबारे उत्सुकता लिएका थिए । अटो शोमा एट्टो–१ मात्र तीन सय बढी बुकिङ भएको छ ।

अटो शोमै कार बुकिङ गर्नेहरूलाई नगद छुट, एक वर्षको अटो बिमा, ३.३ किलोवाटको होम चार्जर र १० वर्षको निःशुल्क बिवाइडी एप सुविधा दिइएको थियो । त्यसले पनि ग्राहक आकर्षित भएका थिए ।

बीवाइडी एट्टो–१ को विशेषता

बीवाइडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इन्कका अनुसार एट्टो–१ को मुख्य विशेषता भनेको यसमा प्रयोग भएको ‘ब्लेड ब्याट्री’ हो । यो ब्याट्री परम्परागत ब्याट्रीजस्तो गह्रौं र ठूलो आकारको हुँदैन । ब्लेडजस्तो लाम्चो र पातलो आकारमा डिजाइन गरिएको हुन्छ । त्यसलाई कारको ‘चेसिस’ (फ्रेम) वा मुख्य भागमै मिलाएर राखिन्छ । यसले कार बलियो र मजबुत बनाउँछ । ब्याट्री तात्तिने समस्या आउँदैन । यसका साथै, यस्तो खालको ब्याट्री प्रयोगले कारलाई हलुको राख्छ र सडकमा हाँक्दा सन्तुलित महसुस हुन्छ ।

साइमेक्स इन्कका अनुसार ब्याट्री क्षमताका आधारमा दुई किसिमका बिवाइडी एट्टो–१ नेपालमा उपलब्ध गराएको छ । जसमा डाइनामिक र प्रिमियम रहेका छन् । डाइनामिकमा ३० किलोवाट आवरको ब्याट्री रहेको छ । यो ब्याट्री फुल चार्ज गरेपछि २३० किलोमिटर यात्रा गर्न सकिन्छ । कम्पनीका अनुसार यो ब्याट्री ३.३ किलोवाटको चार्जरले १० घन्टामै फुल चार्ज हुन्छ ।

त्यस्तै, प्रिमियमको ब्याट्री क्षमता ३९ किलोवाट आवरको छ । फुल चार्ज गरेपछि ३०० किलोमिटर गुड्छ । यो क्षमता काठमाडौंबाट लुम्बिनी जान पर्याप्त हुन्छ । यो ब्याट्री ३.३ किलोवाटको चार्जरले १२ घन्टामै फुल चार्ज हुन्छ । बिवाइडी एट्टो–१ को सबैभन्दा महत्वपूर्ण कुरा भनेका अत्यधिक छिटो ब्याट्री चार्ज गर्ने सुविधा पनि हो । लगभग आधा घन्टामा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । त्यसबाहेक घरमै चार्ज गर्न कुनै अप्ठ्यारो पर्दैन । यसको ब्याट्री १० देखि १५ वर्ष सजिलै टिक्ने कम्पनीको दावी छ ।

ब्याट्रीको क्षमताअनुसार कारको मूल्य फरक छ । डाइनामिक मोडल २८ लाख ९५ हजार रूपैयाँ पर्छ भने प्रिमियम मोडल ३२ लाख ९९ हजार पर्छ । यो गाडी १३० किलोमिटर प्रतिघन्टाको गतिमा गुड्न सक्छ । साथै, कम समयमै तीव्र गतिमा हुइँकिने क्षमता राख्छ । कम्पनीका अनुसार साढे ५ सेकेन्डमै शून्यबाट ५० किलोमिटर प्रतिघन्टाको रफ्तार समात्छ ।

बिवाइडी एट्टो–१ को अर्को विशेषता हो, ‘भिटूएल’ (भेहिकल–टू–लोड) प्रणाली हो । यो प्रविधिमार्फत् आफ्नो गाडीलाई अन्य घरायसी उपकरणहरूको निम्ति बिजुली स्रोतका रूपमा प्रयोग गर्न सकिन्छ । यसको मतलव बिजुली कटौती हुँदा समेत यो सुविधि उपयोगी हुनसक्छ ।

साइमेक्सका अनुसार एट्टो–१ कार हरियो, सेतो, कालो र निलो गरी चार रङमा उपलब्ध छन् । यसमा ६ वटा एयर ब्याग राखिएका छन् । गाडी कतै ठोक्किँदा वा दुर्घटनामा पर्दा स्वतः खुल्ने यी एयर ब्यागले यात्रुहरूको जीउज्यान सुरक्षित राख्न मद्दत गर्ने कम्पनीले जनाएको छ । यो कार बिवाइडीका अरू मोडलभन्दा सानो आकारको छ । त्यसैले काठमाडौंजस्तो बढी घन्चमन्च भइरहने सहर र साँघुरा सडकहरूमा कुदाउन सजिलो हुन्छ । यसको लम्बाइ २.९ मिटर छ भने चौडाइ १.७ र उचाइ १.५ मिटर छ ।

बिवाइडीले ब्याट्री चार्ज कति प्रतिशत सकियो र कति बाँकी छ भनेर मोबाइल एपबाटै हेर्ने सुविधा दिएको छ । गाडीभित्र एसी घटबढ गर्ने, ढोकाको लक बन्द गर्ने र खोल्ने सुविधा पनि एपमै रहेको छ । यसका साथै, कारको स्टेयरिङमै फोन उठाउने र गीतहरूको आवाज तलमाथि गर्ने बटन छ । कार हाँक्दाहाँक्दै कसैको फोन आए मोबाइल स्क्रिन छुनु पर्दैन । एक्लै यात्रा गर्ने क्रममा यी सुविधा चालकलाई निकै उपयोगी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्