Logo
Logo

पहिरोले कालीगण्डकी करिडोर पुनः अवरुद्ध


378
Shares

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनः अवरुद्ध भएको छ । भारी वर्षाका कारण बागलुङ नगरपालिका–१३ कालाखोलामा भिषण पहिरो झर्दा करिडोर अवरुद्ध भएको छ । पाँच दिन अगाडिदेखि अवरुद्ध सडक मङ्गलबार दिउँसो सञ्चालनमा आएको थियो ।

तर, रातभर वर्षा भएपछि आज बिहान ९ बजे सडक माथिदेखि पहरासहितको पहिरो खस्दा करिडोर ठप्प भएको बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सीधा यातायात विच्छेद भएको छ ।

अवरुद्ध सडक खुलाउनका लागि प्रयास गरे पनि अहिले पनि वर्षा भइरहेको हुँदा खुलाउन नसकेको प्रहरी निरीक्षक थापाले बताए । सडक अवरुद्ध हुँदा बागलुङदेखि बुटवल, पाल्पा, भैरहवालगायतका स्थानमा पुग्ने सवारी साधनसमेत ठप्प हुँदा यात्रु अलपत्र परेको उनको भनाइ छ ।

‘कालाखोला क्षेत्रमा ठूलो पहिरो खसिरहेको छ, पाँच दिन अगाडि खसेको पहिरो हिजो मात्रै खुलाएका थियौँ, आज फेरि ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ’, प्रहरी निरीक्षक थापाले भने, ‘यातायता ठप्प हुँदा यात्रुलाई समस्या भएको छ, ठूला–ठूला चट्टानसहितको पहिरो खसेका कारण सडक खुलाउन समस्या भइरहेको छ, कालीगण्डकी करिडोर आयोजनासँग सहकार्य गरेर खुलाउने छौँ ।’

प्रतिक्रिया दिनुहोस्