काठमाडौं । नेपालले अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा आज स्थानीय टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग प्रतिस्पर्धा गर्दै छ ।

डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड २ मा हुने यो खेल नेपाली समयअनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ । नेपाली टोलीको नेतृत्व रोहित पौडेलले गर्नेछन् भने एनटी स्ट्राइकको कप्तानी जेक वेदराल्डले सम्हाल्नेछन् ।
एनटी स्ट्राइकले सन् २०२३ मा भएको टप एण्ड सिरिजको पहिलो संस्करणको उपाधि जितेको थियो र गत वर्ष सेमिफाइनलसम्म पुगेको थियो । टोलीमा बिग ब्यास लिगका अनुभवी खेलाडीहरू छन् । विशेषगरी, डार्सी शर्ट टोलीका प्रमुख आकर्षण हुन्, जसले पावरप्लेमा खेलको रङ्ग बदल्ने क्षमता राख्छन् । उनले अस्ट्रेलियाको सिनियर टोलीबाट टी-२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।
कप्तान जेक वेदराल्ड पनि टोलीको बलियो पक्ष हुन् । उनले सेफिल्ड शिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रेलिया ‘ए’ का लागि शतकीय इनिङ खेलेका छन् । आगामी एशेज सिरिजमा उनले टेस्ट डेब्यू गर्न सक्ने सम्भावना छ । त्यस्तै, जोर्डन सिल्क अर्का स्टार खेलाडी हुन्, जसले तीन पटक बिग ब्यास लिग जितेका छन् ।
उनको आक्रामक ब्याटिङ र उत्कृष्ट फिल्डिङले टोलीलाई थप बलियो बनाएको छ । बलिङमा भने अनुभवी पेसर केन रिचार्डसनले महत्त्वपूर्ण भूमिका खेल्नेछन्, जो अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । यो प्रतियोगिता अगस्ट २४ सम्म डार्विन र पामरस्टनमा सञ्चालन हुनेछ, जसमा नेपाली राष्ट्रिय टोलीसहित ११ टोलीले ३६ लिग खेल खेल्नेछन् ।
नेपालले एनटी स्ट्राइकपछि बङ्गलादेश ‘ए’, मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनिगेड्स र पाकिस्तान शाहीन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीले बलियो टोलीविरुद्ध यो खेलमा कस्तो प्रदर्शन गर्ला भन्ने कुरामा क्रिकेट प्रशंसकहरू उत्साहित छन् ।











