काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रि–आइपिओको नाममा सर्वसाधारणलाई शेयर बिक्री नगर्न नगराउन निर्देशन दिएको छ।

बोर्डले सोमबार सार्वजनिक सूचना जारी गर्दै ‘प्रि–आईपीओ’ नाममा सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत भइरहेको सेयर किनबेचको गतिविधिबाट सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको हो ।
केही व्यक्तिहरूले ह्वाट्सएप, भाइबर, फेसबुक ग्रुप, इमेल तथा एसएमएस जस्ता माध्यमबाट सार्वजनिक निष्कासन नभइसकेका संस्थाहरूको सेयर भविष्यमा सार्वजनिक हुने भन्दै सर्वसाधारणलाई प्रि–आईपीओ नाममा सेयर खरिद गर्न प्रस्ताव गरिरहेका छन् । यस्तो किसिमको कारोबार अवैध र गैरकानुनी भएको बोर्डले स्पष्ट पारेको छ । तर, यस्ता क्रियाकलाप भइरहँदा समेत बोर्डले कारबाही गरेको छैन ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १९ को उपदफा १ बमोजिम कुनै पनि व्यक्ति वा संस्थाले धितोपत्र बोर्डको स्वीकृति बिना सार्वजनिक निष्काशन गर्न, त्यसको प्रचार गर्न वा वितरण गर्न नपाइने व्यवस्था छ । यसै अनुसार, ‘प्रि–आईपीओ’ भन्ने नाममा सेयर बिक्री तथा खरिद गर्न खोज्ने कार्य कानुनविपरीत हुने भएकोले, यसप्रकारको गतिविधिमा संलग्न नगर्न बोर्डले चेतावनी दिइएको छ ।
बोर्डले थप स्पष्ट पारेको छ कि यस्ता कार्यहरूले सर्वसाधारण लगानीकर्तालाई भ्रममा पार्ने, ठग्ने र आर्थिक क्षति पुर्याउने सम्भावना भएकोले यस्ता कार्यमा संलग्न नहुन सर्वसाधारण, लगानीकर्ता तथा संस्थाहरूलाई अनुरोध गरिएको छ ।











