काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि अस्ट्रेलियाका ब्याट्सम्यान क्रिस लिन आउने चर्चा चलेको छ । सुदूरपश्चिम रोयल्सले बुधवार सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै लिनसँग मेल खाने तथ्याङ्क प्रस्तुत गरी उनको आगमनको सङ्केत गरेको छ ।

पोस्टमा अस्ट्रेलियाको जर्सीमा एक ब्याट्सम्यानको तस्वीरसहित उनको तथ्याङ्क राखिएको छ, जसमा ३,९५५ रन र २२० छक्का उल्लेख छ । यो तथ्याङ्क क्रिस लिनको बिग ब्यास लिग ९बीबीएल० को प्रदर्शनसँग मेल खान्छ, जहाँ उनले दुई टोलीबाट १२७ खेलमा यति रन र छक्का प्रहार गरेका छन् ।
लिनले बीबीएलमा एडिलेड स्ट्राइकर्स र ब्रिसबेन हिटका लागि खेल्दै उक्त रन बनाएका हुन् । यस्तै, उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबाट ४२ खेल खेल्दै १,३२९ रन जोडेका छन् । अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट भने उनले सन् २०१८ पछि खेलेका छैनन् ।
उनले अस्ट्रेलियाका लागि ४ एकदिवसीय र १८ टी-२० खेल खेलेका छन् । यो सिजनको एनपिएल मङ्सिर १ देखि कीर्तिपुरको त्रिवि मैदानमा आयोजना हुँदै छ । आठवटै टोलीले नेपाली खेलाडी अक्सनमार्फत अनुबन्ध गरिसकेका छन् भने विदेशी खेलाडी भित्र्याउने प्रक्रिया जारी छ ।











