काठमाडौं । त्रिवि क्रिकेट रङ्गशालाको प्यारापिट एक साताभित्र हस्तान्तरण हुने भएको छ । हालसम्म ९ हजार कुर्सी जडान भइसकेको छ भने बाँकी १ हजार कुर्सी तीन दिनभित्र जडान हुने निर्माण कम्पनी बीकेओआई केसीडीसी-बीजी जेभीले जनाएको छ ।

पहिलो चरणमा १० हजार सिट क्षमताको प्यारापिट तयार हुँदै छ । कुर्सी जडान र जेनेरेटर भवनको काम अन्तिम चरणमा छ । सरसफाइ र रंगरोगन पनि सँगसँगै भइरहेको छ, ।
भन्सारमा सामान रोकिँदा र जेनेरेटर भवनको जिम्मेवारी पछि थपिएकाले केही ढिलाइ भएको छ । फ्लडलाइट जडानको काम पनि गति लिँदै छ । ६ मध्ये ४ पोल जोडिसकिएको छ । क्रेन राख्न फाउन्डेसन तयार भइरहेको छ, र क्रेन केही दिनमा आइपुग्नेछ । सरकारले संविधान दिवसमा कार्यक्रम गर्न असोज ३ गते बत्ती बाल्ने योजना बनाए पनि निर्माण कम्पनीले यो मितिमा काम नसकिन सक्ने जनाएको छ ।
४२० बत्ती जडान गर्न बाँकी छ । प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाख र फ्लडलाइटका लागि २७ करोड ४० लाखमा सम्झौता भएको थियो । समयमै काम नसकिएपछि हर्जना तिर्दै कम्पनीहरूले काम गरिरहेका छन् ।











