काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले युवा पुस्तालाई संयमित रहन आग्रह गरेका छन् । उनले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछि हटिसकेको उल्लेख गर्दै सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्नु अनुचित हुने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत डा. रुइतले लेखेका छन्, ‘परिवर्तनका लागि सडकमा उत्रिएका युवा दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईंहरूको साहसले गर्दा असहिष्णु र भ्रष्ट नेतृत्व पछि हटेको छ । यस्तो बेला सार्वजनिक सम्पत्तिमा आगजनी र नोक्सान गर्नु उचित होइन ।’
उनले सबैलाई एकजुट भएर देशको संरक्षण र निर्माणमा योगदान गर्न अपिल गरेका छन् । ‘सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हरेक नागरिकको प्रमुख कर्तव्य हो । तसर्थ, हामी सबैले संयम अपनाऔँ र सम्पत्तिको नोक्सान हुन नदिऔँ,’ उनले लेखेका छन्, ‘सबै मिलेर देश जोगाऔँ, देश बनाऔँ ।’














