काठमाडौं । संयुक्त राष्ट्रसङ्घ (यूएन)ले नेपालमा आन्दोलनरत युवाहरूका माग शान्तिपूर्ण रूपमा सम्बोधन गर्न सरकारलाई आह्वान गरेको छ । यूएनको नेपालस्थित कार्यालयले मङ्गलवार जारी विज्ञप्तिमा संवाद र विश्वास निर्माणका लागि सहयोग गर्न तयार रहेको जनाएको छ ।

यसले तनाव न्यूनीकरण र शान्तिपूर्ण समाधानमार्फत समृद्ध नेपाल निर्माणमा योगदान पुर्याउने विश्वास यूएनले व्यक्त गरेको छ। यूएनले अत्यधिक बल प्रयोगमा संलग्न व्यक्ति र संरचनामाथि स्वतन्त्र, पारदर्शी र निष्पक्ष छानबिनको आवश्यकता औँल्याएको छ ।
आन्दोलनकारीहरूलाई शान्तिपूर्ण प्रदर्शनको मौलिक अधिकार प्रयोग गर्न र हिंसाबाट टाढा रहन अपिल गर्दै यूएनले राज्यका निकायहरूलाई अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डअनुसार संयमित र सन्तुलित रूपमा कानुन कार्यान्वयन गर्न आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण स्वतन्त्रताको प्रयोग गर्न र हिंसाबाट जोगिन आह्वान गर्छौँ । सुरक्षाकर्मीका सबै क्रियाकलाप अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डअनुरूप हुनुपर्छ ।’ यूएनले संवादलाई नागरिक, विशेषगरी युवाहरूका, माग सम्बोधनको सबैभन्दा उपयुक्त माध्यमका रूपमा जोड दिएको छ ।
यूएनले बल प्रयोगसम्बन्धी सबै आरोपहरूको तत्काल स्वतन्त्र छानबिन हुनुपर्नेमा जोड दिएको छ । समस्याको मूल कारण सम्बोधन गरी नेपालले समृद्ध भविष्य निर्माण गर्ने विश्वास यूएनले व्यक्त गरेको छ । संवादमार्फत युवा र सरोकारवालाहरूको आवाज सुनुवाइ गर्नुपर्नेमा जोड दिँदै यूएनले शान्तिपूर्ण र समावेशी समाधानको पक्षमा आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।














