काठमाडौं । सोमबारदेखि सुरु भएको जेनजी प्रदर्शनमा पहिलो दिन सुरक्षाकर्मीको गोली प्रहारबाट १९ जनाको ज्यान गएपछि मङ्गलवार प्रदर्शनकारी आक्रोशित भई हिंसात्मक बने ।

सरकारले काठमाडौं चक्रपथभित्र कर्फ्यु जारी गरे पनि जेनजीहरू स्वस्फूर्त सडकमा उत्रिए । सुरुमा टायर बालेर प्रदर्शन गरेका उनीहरूले सुरक्षाकर्मीको अश्रुग्यास प्रहारपछि सरकारी र निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनी गरे ।
प्रदर्शनकारीले नक्सालस्थित हिल्टन होटल, सतुसंगलको सीजी इलेक्ट्रोनिक्स, थापाथलीको सीजी मोटर्स शोरुम, तीनकुनेको सिम्रिक एयर कार्यालय र बत्तीसपुतलीको मारवाडी सेवा समितिको भवनमा आगजनी र तोडफोड गरे ।
नक्सालको भाटभटेनी सुपर स्टोरमा लुटपाट र आगजनी भयो, जुन व्यवसायी मीनबहादुर गुरुङको हो । चितवन र विराटनगरका भाटभटेनी स्टोरमा पनि यस्तै घटना भए । नेपाल उद्योग वाणिज्य महासंघले जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै शान्तिपूर्ण प्रदर्शनको आग्रह गरेको छ ।
हिंसाले रोजगारी, राजस्व र अर्थतन्त्रमा नकारात्मक असर पर्ने भन्दै संयमित हुन अपिल गरेको छ । महासंघले सरकार, राजनीतिक दल र जेनजीलाई मर्यादित रोजगारी, लगानी र सामाजिक न्यायसहित समुन्नत समाज निर्माणमा योगदान पुर्याउन आग्रह गरेको छ ।














