काठमाडौं । नेपाली सेनाले सुरक्षाको जिम्मा लिएपछि २७ जना पक्राउ परेका छन् । गएराति १० बजेदेखि बुधबार बिहान १० बजेसम्ममा २७ जना पक्राउ परेको नेपाली सेनाले जनाएको छ ।

सेनाले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८२ भाद्र २४ गते रातको १० बजेबाट देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु परिचालन भएपश्चात आज मिति २०८२ भाद्र २५ गतेको विहान १० बजेसम्म काठमाडौँ लगायत देशका विभिन्न स्थानहरुमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ ।’
त्यस्तै आगजनी भएका क्षेत्रमा वारुणयन्त्रको प्रयोग गरी नियन्त्रणको प्रयास जारी छ । आगजनी नियन्त्रण गर्न तीन वारुणयन्त्र प्रयोग भएका छन् ।
यस्तै, ३३ लाख ७० हजार नगद पनि बरामद भएको छ । सेनाले सूचनामा भनेको छ, ‘काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरिएको छ ।’ नेपाली सेनाको सर्च अपरेसनका क्रममा काठमाडौंका विभिन्न स्थानबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद भएको छ ।
यस्तै, घाइते भएका नेपाल प्रहरीका २३ जना र गैरसैनिक तीनजनाको सैनिक अस्पतालहरुमा उपचार भइरहेको सेनाले जनाएको छ ।














